कोरोनाबारे सचेतना फैलाउन जनप्रतिनिधि घर–घरमा पुुगौँ : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

काठमाडौंमा शनिबार (आज) आयोजित ‘कोभिड १९ जस्तो महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मीले मात्र नभई जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराउनुपर्ने बताएका हुुन् ।

कोरोना महामारीको हालसम्म कुनै उपचार नभएकाले यसको नियन्त्रणका लागि सबै नागरिक स्वास्थ्य अनुशासनमा बस्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताए । ‘जनताले आफ्नो प्रतिनिधिलाई बढी बिश्वास गर्छन्,’ बागमती प्रदेशका सांसदहरू सहभागी कार्यक्रममा उनले भनेका छन्, ‘आफ्ना मतदातालाई स्वास्थ्य अनुशासनमा राख्न तथा स्वास्थ्य मापदण्ड पालना गराउने दायित्व सरकारको मात्र नभई तपाईँ हामी सबैको हो ।’

उनले कोरोनाको महामारी शुरु हुँदा र अहिले लाखौंको संख्यामा पुग्दा एउटै धारणा वा तयारीले नपुग्ने भएकाले परिस्थितिअनुसार सरकारले योजना बनाउनुपर्ने बताए । त्यसैगरी जनप्रतिनिधिले पनि विश्व स्वास्थ्य संगठनले जारी गरेको मापदण्ड तथा सरकारको निर्देशनलाई कार्यन्वयनमा विशेष ध्यान धारणा तिमिल्सिनाले राखेका थिए ।

‘कोरोना शुरु हुँदा सरकारले गरेको लकडाउन पालना गराउन हामीले आफ्ना जनतालाई घरमै बस्नै आग्रह गर्यौं,’ उनले भने, ‘अहिले संक्रमण लाखौंमा पुगिसकेको र उपचार नभएको अवस्थामा जनप्रतिनिधिले भोट माग्न पुगेजस्तै घरघरमा जनचेताना फैलाउन पुग्न जरुरी छ ।’

महामारीलाई नियन्त्रण सम्बन्धि सचेता फैलाउनका लागि राजनीतिक दलले आफ्ना संगठनहरूलाई पनि गाउँगाउँमा परिचालिन गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताए । ‘आपत् परेको बेला हामी जनतामा पुगेर आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सकिन्छ,’ उनको भनाइ थियो, ‘राजनीतिक दल सँगै नागरिक समाज र निजी क्षेत्रले पनि महामारी नियन्त्रणका लागि सकारात्मक सहयोग गर्न सक्दछ ।’

कोरोना विकसित मुलुकमा समेत भयावह भैरहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले पैसाले नभई स्वास्थ्य मापदण्डको पालना गर्दा कोरोना नियन्त्रण हुने बताए ।

यस्तै अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रणका लागि सरकारले अधिकतम प्रयास गरिरहेको बताए भने उनले अबको ४ महिनामा करिब १ लाख ४८ हजार जना कोरोना संक्रमित थपिन सक्ने बताएका थिए ।

प्रतिक्रिया