ओबामाले भने–‘ह्वाइट हाउसभित्र कमाण्डो पठाएर ट्रम्पलाई बाहिर निकाल्न सकिन्छ’

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट आउसभित्र कमाण्डो पठाएर बाहिर निकाल्न सकिने बताएका छन् । सन् २०२० को राष्ट्रपतीय चुनाव हारिसकेका ट्रम्पले जिद्दी गर्दै चुनावमा धाँधली भएको बताउँदै आएका छन् ।

गत ३ नोभेम्बरयता ह्वाइट आउस बाहिर नदेखिएका ट्रम्पलाई कमाण्डो पठाएर पनि बाहिर निकाल्न सकिन्छ भनी पूर्व राष्ट्रपतिले बोलेका हुन् । एक अन्तर्वार्ताका क्रममा ओबामाले भनेका छन्, ‘यदि कोही ह्वाइट हाउसको कुनामा बसिरहेको भए, उनलाई बाहिर निकाल्न म हाम्रो नेभिसील कमाण्डोहरूको टोली पठाउँथें ।’

ओबामा शुक्रबार प्रसिद्ध टिभी कार्यक्रम ‘जिमी किम्ल लाइभ’ मा आफ्नो पुस्तक ‘ए प्रमिस्ड ल्याण्ड’ को प्रमोसनमा सामेल भएका थिए । उक्त समयमा उनले धेरै प्रश्नहरूको जवाफ दिए । धेरैजसो प्रश्नहरू रमाइलो किसिमका थिए । उही समयमा, जिम्मीले ओबामालाई सोधे, ‘ह्वाइटहाउसमा त्यस्तो कुन ठाउँ छ, जहाँ कोही बाहिर निस्किने डरले लुक्छ, भेट्न गाह्रो हुन्छ?’
बाराकले हाँस्दै जवाफ दिए, ‘मलाई लाग्छ, हामीले हाम्रो नेभिसील कमाण्डोहरू पठाएर जुनसुकै व्यक्तिलाई निकाल्न सक्छौं ।’

नेभिसीललाई विश्वकै खतरनाक कमाण्डो टोलीका रूपमा लिइन्छ । सन् २०११ मे २ को रात पाकिस्तानको एबोट्टावादमा अल कायदाका नेता ओसामा बीन लादेनको हत्या यही नेभिसीलले गरेको थियो ।

२०२० को चिर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आगामी २० जनवरीबाट सत्ता सम्हाल्दैछन् । राष्ट्रपति ट्रम्पले आफूले हारेको कुरा स्वीकार गरेका छैनन् । यद्यपि योभन्दा अघि ट्रम्पले सन् २०२४ को चुनावमा पनि आफैँ उम्मेदवार भएर उठ्ने बताइसकेका छन् । उनको त्यो छनकले भने उनले हार स्वीकारिसकेका छन् भन्ने विश्लेषण गरिन थालिएको छ ।

 

प्रतिक्रिया