‘ओहो ! बाटोमा यत्रो खाल्डो, दुर्घटना भए को जिम्मेवार हुने ?’

काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धाबीखोला करिडोरको खाल्डाखुल्डी एक हप्ताभित्र पुर्न निर्देशन दिएका छन् । धोबीखोला करिडोर आयोजनाको निरीक्षण गर्नेक्रममा उनले सो निर्देशन दिएका हुन् ।

मन्त्री श्रेष्ठ, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराई, मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख डा. भाइकाजी तिवारी सहितको टोलीले खोलाले ओगटेको दायाँ र बायाँ गरी २४ किलोमिटर सडकको भौतिक अवस्थाबारे स्थलगत निरीक्षण गरेको थियो ।

‘मैले तपाईंहरुलाई यो भन्न चाहन्छु कि अबको एक हप्तामा करिडोरमा देखिएका यस्ता खाल्डाखुल्डी तत्काल पुरिनुपर्छ, हजारौँ सवारी साधन सञ्चालन हुने बाटोको अवस्था यस्तो हुनु हुँदैन । तत्काल निर्माण गरिनुपर्छ’, उनले निर्देशन दिए ।

मन्त्रीको निर्देशन दिए लगत्तै धोबीखोला करिडोर आयोजना प्रमुख एवम् उपत्यका विकास प्राधिकरणका आयुक्त डा. भाईकाजी तिवारीलले कालोपत्रे भएका र बढी खोल्डाखुल्डी देखिएका सडकमा एक साताभित्र पुरिसक्ने जानकारी दिए ।

मन्त्री श्रेष्ठ सहितको टोलीले ललितपुर र काठमाडौंको सिमाना शंखमुल बुद्धनगर स्थित आर्च बृजबाट अवलोकन शुरु गरेको थियो । हाल आर्चबृज निर्माण भएको बिजुलीबजार पुलको निरीक्षण गदै मन्त्री श्रेष्ठले सो पुलमुनि अन्डरपास निर्माण प्रकृया शुरु गर्न निर्देशन दिएका थिए । मन्त्री श्रेष्ठले अति व्यस्त माइतीघर तीनकुने सडकमा सधैँ सवारी जाम भइरहने सो पुलमुनि अन्डरपास निर्माण गर्न प्रकृया अघि बढाउन निर्देशन दिएका थिए । पुलमुनी पुगेर निर्देशन दिने क्रममा उनले भने–‘सवारी चाप हुने यस्तो क्षेत्रमा किन अन्डरपास निर्माण नगरेको हो ।’

सो करिडोरले छोएको अधिकांश पुलमुनि अन्डरपास निर्माण भएपनि सो पुलमुनि फोहोर थुप्रिएको छ । नजिकैको बाटोमा ग्यारेज बनाइएको छ । सो क्रममा मन्त्रालयका सचिव डा. सिहले सकेसम्म चालु आर्थिक वर्ष नभए एक वर्षभित्र अन्डरपास निर्माण हुने जानकारी गराएका थिए ।

ठेकेदारको कमजोरीको कारण बाटो पास गर्न सहज हुने सो पुलमा अन्डरपास निर्माण गरिएको छैन । मन्त्री श्रेष्ठ रेलिङ नाघेर पुलमुनि पुगेर निरीक्षण गरेका थिए । लगत्तै चावहिलस्थित ओम अस्पताल पारि पुगेका मन्त्री श्रेष्ठले बाटोमा मंगाल देखेपछि अचम्म माने । उनले भने, ‘ओहो ! बाटोमा यत्रो खाल्डो, दुर्घटना भए को जिम्मेवार हुने ?’ मन्त्रीको प्रश्नमा आयोजना प्रमुख डा. तिवारीले ‘आजै यो मंगाल छोप्नेछौँ’ भने । मन्त्री श्रेष्ठले दुर्घटना हुनबाट जोगाउन बाटोमा देखिएका यस्ता मंगाल र खाल्डाखुल्डी पुर्न निर्देशन दिएका थिए ।

अवलोकन भ्रमणपछि प्राधिकरणमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले उपत्यकाको लाइफलाइनको रुपमा रहेको धोबीखोलाको इज्जत र सौन्दर्यता खस्कन नदिन सरकारले जस्तोसुकै कदम अघि बढाउन सक्ने बताएका थिए ।

प्रतिक्रिया