काेराेना संक्रमणबाट पाेखरामा एकैदिन सात जनाकाे मृत्यु

कास्की । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट पाेखरामा एकैदिन ७ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा सबै पुरूष रहेका छन् । पाेखरा महानगरपालिकाका ६ र तनहुँका एक जना पुरूषकाे शुक्रबार र बिहीबार मृत्यु भएकाे हाे ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै चार जना संक्रमितकाे मृत्यु भएकाे छ । पोखरा महानगरपालिका-१७, कास्कीका २९ वर्षीय पुरुषको शुक्रबार मध्याह्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हाे । निमोनिया भएर अस्पताल गएका उनलाई ५ मंसिरमै कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै पोखरा महानगरपालिका-१३, कास्कीका ५५ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएकाे छ । उनीमा शुक्रबार काेराेना पुष्टि भएकाे थियाे । मिर्गौलासम्बन्धी समस्या भएका उनकाे उपचारका क्रममा मृत्यु भएकाे हाे ।
पोखरा महानगरपालिका-९, का ६८ वर्षीय पुरुषको पनि बिहीबार राति उपचारका क्रममा साेही अस्पतालमा मृत्यु भएकाे छ । निमोनिया भएर अस्पताल गएका उनलाई ४ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैगरी पोखरा महानगरपालिका-२१ का ७५ वर्षीय पुरुषको पनि बिहीबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल गएका उनलाई ४ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै गण्डकी मेडिकल केलजमा तीन काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । शुक्रबार दुई जना र बिहीबार एक जनाकाे मृत्यु भएकाे हाे । शुक्रबार बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका-८ का ५४ वर्षीय र म्याग्दे गाउँपालिका-४, तनहुँका ५१ वर्षीय पुरुषको रहेका छन् ।
यस्तै पोखरा महानगरपालिका-२७ का ७१ वर्षीय पुरुष को बिहीबार राति गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । मृतक सबैमा काेराेनाकाे लक्षण देखिएकाे थियाे ।









