जहाँ वायु प्रदूषण, त्यहीँ धेरै कोरोना संक्रमण र मृत्यु

काठमाडौं । वायु प्रदूषण बढी भएका स्थानमा बस्ने मानिसमा कोभिड-१९ सङ्क्रमण हुने र कोरोनाका कारण मृत्यु हुने सम्भावना बढी हुने अध्ययनले देखाएको छ । वातावरण संरक्षणसँग सम्बन्धित विज्ञका अनुसार कोरोना सङ्क्रमणबाट मृत्यु हुनेमध्ये करिब १५ प्रतिशत वायु प्रदूषणकै कारण हुने गरेको अध्ययनले देखाएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वातावरण विभाग, विश्व स्वास्थ्य सङ्गठन नेपाल, नगरपालिका सङ्घ र स्वच्छ ऊर्जा नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा सो कुराको जानकारी दिइएको छ । वायु प्रदूषण विश्वकै समस्या भएको उल्लेख गर्दै नेपालमा आवश्यक मापदण्डभन्दा पाँच गुणा बढी वायु प्रदूषण रहेको मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा जागेश्वर गौतमले बताए । उनले फोक्सो र मुटु रोग तथा मस्तिष्काघातको प्रमुख कारकमध्ये वायु प्रदूषण पनि एक भएको उल्लेख गर्दै सन् २०१८ मा वायु प्रदूषणका कारण नेपालमा ३७ हजार व्यक्तिको मृत्यु भएको तग्थ्याङ्क पेश गरे ।

विश्व स्वास्थ्य सङ्गठन नेपालका जनस्वास्थ्य प्रशासक डा खुर्सिद आलम हाइडरले वायु प्रदूषणले कोभिड-१९ को सङ्क्रमण र मृत्युदर दुवै बढाउने उल्लेख गर्दै सङ्गठन वायु प्रदूषण नियन्त्रणका लागि नगरपालिकाहरुलाई प्राविधिक सहयोग गर्न तयार रहेको बताए । विश्व स्वास्थ्य सङ्गठनले मन्त्रालयलगायत अन्य निकायसँग समन्वय गर्दै काठमाडौँ उपत्यकाका लागि ‘शहरी स्वास्थ्य कार्यक्रम’ दुई वर्षदेखि कार्यान्वयन गर्दै आइरहेको छ ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्यान्जुले काठमाडौँ उपत्यकाको वायु प्रदूषण नियन्त्रणका लागि सम्बन्धित नगरपालिकाले एकीकृत र समन्वयात्मक रुपमा काम गर्नुपर्ने औँल्याउँदै स्थानीय सरकारले पूर्वाधार विकास निर्माणसँगै स्वच्छ वातावरण निर्माणमा समेत ध्यान दिनुपर्नेमा जोड दिए । वातावरणविद् सञ्जयनाथ खनालले वायु प्रदूषण नियन्त्रणका लागि ट्राफिक व्यवस्थापन तथा यातायातमा सुधार, सडक धुलो नियन्त्रण, उद्योगमा सुधार र फोहर जलाउने कार्य बन्दलगायत कार्य गर्नुपर्ने सुझाव दिए ।

प्रतिक्रिया