लुम्विनी र कर्णाली प्रदेशका २५ जिल्ला अध्यक्षद्वारा प्रधान समुहलाई भोट हाल्ने निर्णय

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको चुनावी सरगर्मी बढिरहेका बेला लुम्बिनी र कर्णाली प्रदेशका २५ जिल्ला अध्यक्षहरुले बरिष्ठ उपाध्यक्षमा किशोर कुमार प्रधान समुहलाई मतदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बुधवार नेपालगञ्ज उद्योग बाणिज्य महासंघले लुम्विनी र कर्णाली प्रदेशका जिल्ला अध्यक्षहरुको उपस्थितीमा भएको भेलामा जिल्ला अध्यक्षहरुले महासंघको सुदृढिकरण र सुद्धिकरणका लागि प्रधान समुहले अगाडि सारेका मुद्धामा आफुहरुको प्रतिवद्धता जाहेर गर्दै प्रधान समुहको पक्षमा मतदान गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन ।

कार्यक्रममा निर्वतमान अध्यक्ष पशुपति मुरारका र पुर्वअध्यक्ष कुशकुमार जोशीले महासंघलाई सवल नेतृत्व प्रदान गर्न बरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको बिकल्प नरहेको बताए । मङ्सीर १३ गतेबाट स्वतः अध्यक्ष बन्ने शेखर गोल्छाले आफनो कार्यकाल सफल बनाउन किशोर प्रधान समुह रोजेकाले अध्याधिक मत दिएर संस्थापन पक्षलाई बिजयी गराउन निवर्तमान अध्यक्ष मुरारकाले आग्रह समेत गरे ।

लुम्विनी र कर्णालीका जिल्ला अध्यक्षहरुको भेलालाई अध्यक्ष भवानी राणा र भावी अध्यक्ष शेखर गोल्छाले भिडियो सन्देश मार्फत किशोर प्रधान र उनको समुहलाई बिजयी गराउन अपिल समेत गरेका थिए ।

नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिर मन्सुरीले भेलामा २ वटा प्रदेशका २५ जिल्ला अध्यक्षहरुले सामुहिकरुपमा शेखर गोल्छा नेतृत्वको किशोर प्रधानको टिमलाई मत दिएर निर्वाचित गराउने निणर्य गरेको बताए । भेला समापनपछि बरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधानले कर्णाली र लुम्विनी प्रदेशबाट आफनो समुहलाई ८० प्रतिशत मत प्राप्त हुने दावी गरेका छन् । प्रधानले गलतप्रचार र दावीको पछाडी नलाग्न आग्रह गर्दै यसपालीको निर्वाचनमा आफ्नो जित सुनिश्चीत भएको बताए ।

भेलामा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर राउत, मुगु उद्योग बाणिज्य संघका अध्यक्ष कमल बहादुर बुढा, हुम्ला उद्योग बाणिज्य संघका अध्यक्ष नामग्याल लामा, डोल्पा उद्योग बाणिज्य संघका अध्यक्ष लालीमान बुढा, जाजरकोट उद्योग बाणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्री, सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, बर्दिया उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णाकुमार रेग्मीलगायतका २५ जिल्ला अध्यक्षहरु सहभागी थिए ।

भेलालाई पूर्व अध्यक्षका अलावा बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर कुमार प्रधान, जिल्लानगरका उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठ र जिल्ला नगरबाट केन्द्रीय सदस्यका उम्मेदवार अरुणराज सुमार्गीलगायतले सम्वोधन गरेका थिए ।

 

प्रतिक्रिया