मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु

‘प्रस्ताव नामक अभियोगपत्रले यसअघिका हाम्रा सहमतिहरुको अन्त्यको घोषणा गर्‍यो’
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निकै जटिल मोडमा पुगेको भन्दै आफूमाथि लागेका आरोपहरु सबै झुटो भएको दाबी गरेका छन् ।

पार्टी सचिवालयको मंसिर ३ गते बालुवाटारमा सम्पन्न बैठकमा सम्बोधनका क्रममा यस्तो बताएका हुन् । गत शुक्रबार बसेको सचिवालय बैठकमा एक प्रतिवेदन बुझाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासनको कार्यदिशाविपरीत सरकार चलाएको, भ्रष्टाचार, व्यभिचार, दूराचार र कमिसन खोरी नियन्त्रण गर्न सार्थक पाइला नचालेको र विभिन्न अनियमितता तथा भ्रष्टाचार प्रकरणमा मुछिएकाहरूलाइ संरक्षण गरेको प्रम ओलीमाथि आरोप लगाएका थिए ।

सोही आरोपको ओलीले हिजोको बैठकमा खण्डन गरेका छन् । यसैबीच उनले आगामी १३ गते बस्ने सचिवालय बैठकमा आफूले पनि प्रतिवेदन पेश गर्ने बताएका छन् ।

‘ओलीलाई खुसी पार्ने नाममा शीर्ष नेताको बदनाम नगरौं’
सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई खुशी बनाउने नाममा अरु नेतालाई बदनाम गर्ने काम नगर्न चेतावनी दिएका छन् ।

गौतमको सचिवालयले एक सूचना जारी गर्दै ओलीलाई खुशी पार्ने नाममा अरु नेताको बद्नामी गर्ने, भ्रम सिर्जना गर्दै अरु नेताको बदख्वाइँ गर्ने काम गरिएको भन्दै कडा आपत्ति जनाएको हो । अहिले ओलीलाई धरातलीय यथार्थबाट हावामा उडाएर उनको सुन्दर राजनीतिक जीवनमा क्षति पुर्याउने काम भैरहेको ठहर गर्दै त्यस्तो कार्य तुरुन्त रोक्न पनि आग्रह गरिएको छ ।
यसैगरी बुधबारको सचिवालय बैठकमा वामदेवले प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्ने कुरा उठाएको भनी आएका हल्ला निराधार रहेको पनि स्पष्ट पारिएको छ । बैठकमा प्रचण्डको प्रस्तावमाथि कुनै छलफल नभएको र बरु प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीले आफ्नो पनि प्रस्ताव ल्याउने भनेपछि बैठकमा सहजता भएको गौतमलाई उद्धृत गर्दै सचिवालयले बताएको छ ।

आजको कोरोना अपडेटः थप १७ जनाको मृत्यु, संक्रमित कति थपिए ?
नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृतकको संख्या १ हजार २ सय ७६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार १ सय ३ संक्रमित थपिएका छन् भने २ हजार ८ सय ५८ जना निको भएर फर्किएका छन् । आज क्वारेन्टिनमा ७ सय ६७ जना रहेका छन् भने २८ हजार १ सय ६ सक्रिय संक्रमित रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । संक्रमितमध्ये १ लाख ८५ हजार ६३८ जना निको भइसकेका छन् । मृतक संख्या १ हजार २७६ पुगेको छ ।

समस्या सिर्जना गर्ने थलो बन्यो नेकपा सचिवालय : विष्णु पौडेल
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीको सचिवालय समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुँदै गएको बताएका छन् ।

पार्टीको ‘कोर अफ दि लिडरसिप’का रुपमा मान्यता पाएको सचिवालय आन्तरिक समस्या समाधान गर्नेभन्दा समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुँदै गएको पौडेलको भनाइ छ । पार्टीको आन्तरिक जीवनमा देखिएको समस्या र राष्ट्रिय राजनीतिलाई सही दिशामा दिशावट गर्नका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा नेकपा सचिवालयले त्यस्तो गर्न नसकेको पनि उनले बताएका छन् ।

बिहीबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा महासचिव पौडेलले सचिवालयले आफ्नो समीक्षा गर्दै भूमिका परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए । महासचिव पौडेलले आफ्नो अभिभारा सही ढंगले पूरा गर्न नसक्ने अवस्था आएको भए सामूहिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने पनि बताएका छन् ।

अबका चार महिनामा ३ लाखसम्म कोरोना संक्रमित थपिने अनुमान
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको चार महिनामा १ लाख ४८ हजारदेखि ३ लाख जनासम्म कोरोना संक्रमित थपिन सक्ने अनुमान गरेको छ ।

मन्त्रालयको हेल्थ सेक्टर र्‍यापिड एक्सन प्लान २ मा कात्तिकदेखि माघ महिनासम्म सामान्य अवस्था रहे थप १ लाख ४८ हजारसम्म र खराब अवस्था आएमा ३ लाखसम्म संक्रमित थपिने प्रक्षेपण गरेको मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

चिसो मौसम शुरू भएसँगै संक्रमण बढ्ने अनुमान गर्दै मन्त्रालयले संक्रमण नियन्त्रण निम्ति नयाँ कार्ययोजना पनि बनाएको छ । यसअघि पनि मन्त्रालयले असारदेखि असोजसम्म अवस्था खराब हुँदा १ लाख ८० हजारसम्म संक्रमित हुने प्रक्षेपण गरेको थियो । तर सो अवधिमा संक्रमणका मामिला प्रक्षेपण गरिएभन्दा केही कम भएको थियो । उपत्यका बाहिर शुरूमा कोरोना फैलिएको ठाउँमा संक्रमण नियन्त्रणमा आउनु यसको प्रमुख कारण रहेको मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

सरकारले थप्यो नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजीको दरबन्दी
सरकारले संघीय प्रहरी र प्रदेश प्रहरीको संगठन संरचना (ओएन्डएम) स्वीकृत गरेको छ । अघिल्लो मन्त्रिपरिषद बैठकले प्रहरीको ओएन्डएम स्वीकृत गरेको गृह स्रोतले बतायो।

गृह स्रोतका अनुसार ओएन्डएम मन्त्रिपरिषदबाट स्वीकृत भएको जानकारी बुधबार प्राप्त भएको छ ।

यससँगै अब नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र पाँच जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) थपिने छन् । नेपाल प्रहरी र संघीय प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय)को पहिलो संशोधन अध्यादेश २०७७ प्रमाणीकरण गत असोजमै भएको थियो ।

ओएन्डएम स्वीकृत भएसँगै संघीय राजधानी काठमाडौंको सुरक्षाका लागि अब ‘संघीय राजधानी प्रहरी’ गठनहुनेछ ।

उद्योग वाणिज्य महासंघको चुनाव रोक्न माग गर्दै प्रशासनमा निवेदन
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन स्थगित गर्न माग गर्दै जिल्ला प्रसाशन कार्यालय काठमाडौंमा निवेदन परेको छ ।

संस्थाको विधान र सर्वमान्य सिद्धान्त विपरीत निर्वाचन गर्न लागिएको भन्दै त्यसलाई रोक्न माग गर्दै निवेदन परेको हो ।  उद्योग वाणिज्य महासंघ प्रदेश–२ का अध्यक्ष शिवशंकर साहले बिहीबार कठमाडौं प्रशासनमा निवेदन दिएका हुन् ।

हासंघको निर्वाचन स्थगित गर्न दिएको निवेदनमा गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवलालयलाई समेत बोधार्थ दिइएको छ ।

महासंघको ५४औं साधरणसभा आगामी मंसिर ११ देखि १३ सम्म काठमाडौंमा हुने तय भएको छ ।

सेयर बजारमा नयाँ रेकर्ड, नेप्से ३६ अंकले बढ्दा ६ अर्ब ११ करोड रूपैयाँको कारोबार
सेयर बजारमा अहिलेसम्मकै बढी रकमको कारोबार भएको छ । सेयर बजारमा साताको अन्तिम दिन आज बिहीबार एकै दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ६ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ ।

यो अहिलेसम्मकै कीर्तिमानी कारोबार रकम भएको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ । आज एक करोड ४० लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

कारोबार सुरु भएदेखि नै उकालो लाग्न थालेको नेप्सेमा ३६.३२ अंकको सुधार आउने क्रममा कारोबार रकमले रेकर्ड कायम गरेको हो । एकैदिन ३६ अंकले बढेको परिसूचक एक हजार ७ सय ७८ अंकमा पुगेर बन्द भएको छ ।

सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने
नेपाली क्रिकेटका ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । होबर्टले विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । सम्झौता रकम भने उसले खुलाएको छैन ।

सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन् । यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए । उनले दुवै सिजनमा गरी बीबीएलमा २० खेल खेल्दै २६ विकेट लिएका थिए । गत संस्करणमा सन्दीपको उत्कृष्ट प्रदर्शनकै कारण मेलबर्न फाइनलमा पुगेको थियो । बीबीएलका लागि होबर्टमा सामेल हुन पाउँदा सम्मान महसुस गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् ।

अमेरिकामा घरबाटै कोरोना परिक्षण गर्न सकिने, करिब ३० मिनेटमा रिपोर्ट आउने !
अमेरिकामा कोरोनाभाइरसको तिब्र परीक्षणका लागि सरकारको आधिकारिक निकायले अनुमति दिएको छ । आपतकालिन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी मंगलबार पहिलो पटक यस्तो अनुमति प्रदान गरिएको हो । घरमा समेत प्रयोग गर्न मिल्ने यस विधिले ३० मिनेटमा नै कुनै व्यक्तिलाई कोरोना संक्रमण भएको छ छैन भन्ने नतिजा देखाउने जनाइएको छ ।

अमेरिकाको नियामक निकायको रुपमा रहेको खाद्य तथा औषधी सम्बन्धी कार्यालयले यसलाई कोरोनाभाइरस नियन्त्रणका लागि एउटा महत्वपूर्ण कदमको रुपमा लिएको छ । अहिले प्रारम्भिक चरणमा यो विधिलाई सिमित ठाउँमा र सिमित अवस्थामा मात्रै प्रयोग गर्न दिइने अधिकारीहरुले जनाएका छन् ।

प्रयोगका लागि अनुमती दिइएको औषधी क्यालिफोर्नियाको औषधी उत्पादक कम्पनी लुकिरा हेल्थले उत्पादन गरेको हो । विरामी आफैंले नाकबाट स्वाव परीक्षण गर्न मिल्ने र औषधी प्रयोग गर्न सक्ने पनि कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया