‘पुस्ता भनेको आमाबाउ र छोराछोरी भन्ने अर्थ हो, बाउका ठाउँमा माइला बाउलाई पुस्ता फरक भनिन्न ।’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा एवम् राष्ट्रिय युवा संघ, नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले अहिलेको नेकपा कमिटीहरुमा युवाहरुको प्रतिनिधित्व गराउनुपर्ने बताएका छन् ।

बिहीबार (आज) आफ्नो आधिकारिक फेसबूकमार्फत् पुस्ता भनेको आमाबाउ र छोराछोरी भन्ने अर्थ लाग्ने बताउँदै दीपशिखाले यस्तो बताउका हुन् । यस्तै उनले बाउका ठाउँमा माइला बाउलाई पुस्ता नभनिने पनि बताएका छन् । बाउछोराको उमेर भिन्नता २० वर्ष भएको उल्लेख गरेका उनले लेखका छन्, ‘अहिले कम्तिमा बाउछोराको उमेर भिन्नता भनेको २० वर्ष हो । पुस्ता भनेको आमाबाउ र छोराछोरी भन्ने अर्थ हो । बाउका ठाउँमा माइलाबाउलाई पुस्ता फरक भनिन्न । अहिले कम्तिमा बाउ छोराको उमेर भिन्नता भनेको २० वर्ष हो ।’

यसैबीच उनले पुस्तान्तरणको अर्थ उमेर नै भएको बताएका छन् । पुस्तान्तरणले सोच, चिन्तन, कार्यशैली, अनुभूति र गतीमा फरक पर्ने तर्क गरेका दीपशिखाले थप लेखेका छन्, ‘उमेर जे भएपनि सोच्ने तरिका युवाको भए भयो नि भन्ने कुरा राजनीतिक हो, पुस्तान्तरण होइन । भन्नलाई पुस्तान्तरण भन्ने उदेश्य चैं ‘मन नपरेको ६५ बाट मन परेको ६० मा हस्तान्तरण’ को राख्ने ?’
यस्तै दीपशिखाले पुस्तान्तरणको बहस गर्ने नेताहरुलाई ‘तपाईँले भनेको पुस्तान्तरण कस्तो हो’ भनेर प्रश्नसमेत गरेका छन् । युवाको मुद्दालाई झोक, कुण्ठा, पराजयविजय, बहुमतअल्पमत, कमजोरबलियोको साधन नबनाउन आग्रह गरेका उनले उल्लेख गरेका छन्, ‘इमान्दार छौ भने पुस्तान्तरण होइन, सचिवालय, स्थायी समिति र अन्य कमिटीहरुमा प्रतिनिधित्व मात्रै भएपनि गराउने हिम्मत गर ।’

यसअघि पनि दीपशिखाले गत २८ कार्तिकमा नेकपा सचिवालय बैठकमा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रतिवेदन फिर्ता नहुने बताउँदै प्रतिवेदनको बुँदामाथि छलफल हुनुपर्ने बताएका थिए ।

प्रतिक्रिया