ओलीको अडान- ‘आरोपको छिनोफानो नभएसम्म एकता प्रक्रिया अघि बढ्न सम्भव छैन’

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएका तथ्यहीन, आधारहीन र पार्टी एकतामा गम्भीर रूपमा आँच पुर्याउने आरोप खारेज गर्न खोजेको बताएका छन् ।
सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री पोखरेलका प्रधानमन्त्री ओलीले बुधबारको सचिवालय बैठकमा आफूमाथि लागेका आरोपहरुको छिनोफानो नगरी पार्टी एकताको प्रकृयालाई अगाडि बढाउन सहज र सम्भव नहुने बताएका हुन् । सचिवालय बैठकको सार भनेर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै पोखरेलले यस्तो जानकारी दिए ।
पोखरेलले फेसबुकमा लेखेका छन्- ‘आफूमाथि लगाइएका “तथ्यहीन , आधारहीन, पार्टी एकतामा गंभीर रूपमा आँच पुर्याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरू” लाई आफूले अस्वीकार गर्ने र खारेज गर्ने उद्घोष गर्नुभएको छ केपी शर्मा ओलीले सचिवालयको बैठकमा ।’
त्यस्तै उनले त्यसको व्यवस्थित र सामग्रिक रूपमा खण्डन गर्ने कुराको समेत घोषणा गरेको बताएका छन् । ‘यो गंभीरतालाई पार्टी एकताको पक्षमा उभिनु भएका नेकपाका सबै तहका नेता, कार्यकर्ताहरूले बुझौं र त्यसै अनुसार आफूलाई तयार बनाऔं !!,’ पोखरेलले कार्यकर्तालाई भनेका छन् ।









