जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ घाइते

लमजुङ । लमजुङको दोर्दी गाउँपालिका-४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन्।

सुन्दरबजार नगरपालिकाबाट दोर्दी-५ पाचोक जाँदै गरेको ग१ज ७१२७ नंको जीप मङ्गलबार साँझ दुर्घटना हुँदा पाचोककै ७० वर्षीय सोनी गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार जीप दुर्घटनामा घाइते गुरुङको स्थानीय मेडिकलमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ११ जनामध्ये चार गम्भीर र सात जना सामान्य छन् । दोर्दी गाउँपालिका ५ का १५ वर्षीय निराजन गुरुङ, १७ वर्षीय सुरेश गुरुङ, २० वर्षीय प्रकाश गुरुङ र वडा नम्बर ४ का ४८ वर्षीय पञ्चबहादुर तामाङ गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।

घाइते ११ जनाको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको हातखुट्टा, ढाड, टाउकोलगायत शरीरका विभिन्न स्थानमा चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त जीप सडकबाट १५ मिटर तल किसेदीखोलामा खसेको छ । -रासस

प्रतिक्रिया