चिनियाँ राजदूत यान्छी फेरि सक्रिय, प्रधानमन्त्री ओलीसँग डेढ घन्टा संवाद !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेको बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी फेरि सक्रिय भएकी छिन् । यसअघि पनि नेकपा भित्रको शक्ति संघर्ष चलेको बेला सक्रिय भएकी यान्छी फेरि सक्रिय भएकी हुन् ।

राजदूत यान्छीले मंगलबार राती नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेकी छिन् । ९ बजे सुरु भएको संवाद साढे १० बजेसम्म चलेको थियो । स्रोतका अनुसार प्रधानमन्त्री ओली र राजदूत यान्छीबीच नेकपा भित्रको पछिल्लो समस्या बारेमा छलफल भएको हो । यद्यपी राजदूत हाउ र प्रधामन्त्री ओलीबीचको भेटघाट तथा त्यसको एजेण्डाबारे दुबैतर्फबाट केही खुलाइएको छैन ।

राष्ट्रपतिको सक्रियता झनै बढ्यो
नेकपामा विवाद बढ्दै जाँदा राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सक्रियता बढाएकी छिन् । मंगलबार मात्रै उनले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग झन्डै दुई घन्टा संवाद गरिन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल शीतल निवासबाट फर्किएलगत्तै शीतल निवासमा पछिल्लो विवादमा आफूलाई सहज होस् भन्ने उद्देश्यका साथ प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पनि राष्ट्रपति भण्डारी भेट्न शीतल निवास पुगेका थिए । ओलीले लामो समय राष्ट्रपति निवासमा बिताएका थिए । त्यहाँ उनले नेकपा विवादमा आफूलाई सहयोग गर्न राष्ट्रपति भण्डारीलाई फेरि पनि अनुरोध गरे ।

त्यसो त यसअघि नै प्रधानमन्त्री ओलीलाई सहज बनाउन राष्ट्रपति भण्डारीले नेकपा उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थाहा बादललाई भेटिसकेकी छिन् । यी दुवै छुट्टाछुट्टै भएका भेटमा राष्ट्रपति भण्डारीले गौतम र बादललाई नेकपा विवाद समाधान गर्न भूमिका खेल्न आग्रह गरेकी थिइन् ।

मंगलबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको २ घन्टा लामो संवादमा पनि उनले प्रचण्डलाई अध्यक्ष ओलीसँग मिलेर जान अनुरोध गरेकी थिइन् । अध्यक्ष ओलीसँग मिलेर पार्टी एक भएर अगाडि बढेमा मात्र लोकतन्त्रको रक्षा हुने, जनआन्दोलन र कम्युनिस्ट आन्दोलनको न्याय हुने राष्ट्रपति भण्डारीले बताएको स्रोतको दाबी छ । अध्यक्ष प्रचण्ड त्यहाँबाट निस्किएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवास पुगेका थिए ।

विवाद उत्कर्षमा
पछिल्लो समयमा नेकपाभित्रको विवाद उत्कर्षमा छ । २२ कार्तिकमा अध्यक्ष प्रचण्ड सहित ५ सचिवालय सदस्यले बैठकको माग गर्दै प्रधानमन्त्री ओलीलाई पत्र बुझाएका थिए । त्यस लगत्तै प्रधानमन्त्री ओलीले कात्तिक २५ गते १० पेज लामो पत्र प्रचण्डलाई लेखेका थिए ।

अध्यक्ष प्रचण्डले कात्तिक २८ गते लेखेको ७ पन्ने जवाफ प्रधानमन्त्री ओलीलाई फर्काएका छन् । यो पत्रपछि नेकपाभित्रको विवाद उत्कर्षमा छ । यो ७ पन्ने जवाफलाई प्रचण्डले राजनीतिक प्रस्ताव भनेका छन् ।

सचिवालयको बैठक आजका लागि बोलाइएको छ । प्रधानमन्त्री ओली समूहले प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता नगरेसम्म बैठक बस्नुको औचित्य नहुने बताएको छ । यता प्रचण्ड सहित सचिवालयका ५ नेताहरुले भने प्रस्तावमाथि छलफल हुनुपर्ने अडान यथावत राखेका छन् ।

निर्णायक बैठकको रुपमा हेरिएको यो बैठक अघि चीन सक्रिय भएपछि चासोका साथ हेरिएको छ । बुधबारको बैठक अघि ओलीले आइतबार वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग छुट्टाछुट्टै छलफल गरेका छन् । यो भेट लगत्तै पूर्व माओवादी निकट नेताहरुसँग पनि छलफल गरेका छन् ।

प्रतिक्रिया