महासचिवलाई प्रचण्डको जवाफ ‘सबै छलफल बैठकमै गरौं, बैठक राेक्न मिल्दैन’

काठमाडौं । भोली बस्ने नेकपा सचिवालय बैठक स्थगन गर्दै प्रधानमन्त्री समेत रहेका पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग संवाद र सहमति गर्न अनुरोध गर्दै खुमलटार पुगेका नेकपा महासचिवलाई प्रचण्डले अब सचिवालयमै सबै विषय छलफल गरौं भनेका छन् ।

आज विहान केपी ओलीको पक्षबाट कार्यकारी अध्यक्ष प्रचण्डसँग राजनीतिक प्रस्ताव फिर्ता लिएर सहमतिको वातावरण बनाउन आग्रह गर्न खुमलटार पुगेका महासचिव विष्णु पौडेललाई प्रचण्डले कसैले चाहँदैमा बैठक नरोकिने प्रष्ट पार्दै जतिपनि विषयहरु सचिवालय बैठकमै छलफल हुने जनाएका हुन् ।

‘महासचिवज्यूले कार्यकारी अध्यक्षज्यूलाई राजनैतिक प्रस्ताव फिर्ता लिएर संवाद र सहमतिका कुरा अगाडी बढाउँ भन्नु भयो, उहाँ (प्रचण्ड) ले २८ गतेको सचिवालय बैठकले नै ३ गते पुनः सचिवालय बस्ने भनेकाले सोहि अनुसार तयारी गर्न महासचिवलाई निर्देशन दिनुभयो ।’ खुमलटार श्रोतले बतायो ।

भेटमा महासचिव पौडेलले राजनीतिक प्रतिवेदनले सचिवालयको बैठक बस्ने वातावरण समेत विथोलिएको बताउँदै प्रधानमन्त्रीले राजनीतिक प्रस्ताव फिर्ता नलिएसम्म सचिवालय बैठक नबस्ने अडान लिएको समेत प्रचण्डलाई जानकारी गराएका थिए । ‘तपाईले राजनीतिक प्रस्ताव फिर्ता लिनुभयो भने सचिवालयकाो बैठक बस्न सहज हुन्छ । त्यसपछि अन्य विषयमा छलफल भइहाल्छ नि !’ महासचिव पौडेलले कार्यकारी अध्यक्षलाई भनेको श्रोतको दावि छ ।

त्यसपछि प्रचण्डले सचिवालयको बैठक कसैले चाहँदैमा नरोकिने बताउँदै भने–‘बैठक रोकिँदैन, रोक्न मिल्दैन, तपाईंले बैठककै तयारी गर्नुस्, सबै कुरा बैठकमै छलफल गरौं ।’ खुमलटार श्रोत भन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा रहेका सचिवालय सदस्यहरुले कार्यकारी अध्यक्षले राजनीतिक प्रस्ताव फिर्ता लिनुपर्ने अडान गरिरहेका छन् । स्वयं प्रधानमन्त्री ओली समेत राजनीतिक प्रस्तावको जवाफ नदिने मनस्थितिमा रहेका छन् ।

यता सचिवालयका बहुमत सदस्यहरु प्रचण्ड, झलनाथ, बामदेब, माधब नेपाल तथा नारायणकाजीहरु कुनैपनि हालतमा सचिवालय बैठक स्थगित गर्ने तथा राजनीतिक प्रस्ताव फिर्ता नलिने मनस्थितिमा छन् ।

नेकपाभित्रको अन्तरद्वन्द्वले पार्टीलाई जनता माझ अलोकप्रिय बनाएको दोश्रो तहका नेताहरुको धारणा छन् । कतिपय दोस्रो तहका नेताहरुले सचिवालय र स्थायी कमिटीले विवाद हल गर्न नसके केन्द्रीय समिति नै बोलाउनु पर्ने माग पनि उठाइरहेका छन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले सरकार चलाउन नसकेको, कोरोना रोकथाम नियन्त्रणमा काम गर्न नसकेको, पार्टीभित्र गुट चलाएको लगायतका आरोपहरु प्रचण्ड पक्षले लगाएको छ भने, ओली पक्षले पनि प्रचण्ड पक्षलाई विभिन्न आरोपहरु लगाउँदै आएको छ ।

प्रतिक्रिया