एकाविहानै ओलीको के सन्देश लिएर खुमलटार पुगे महासचिब ?

काठमाडौं । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर नेकपा महासचिब विष्णु पौडेल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट गर्न खुमलटार पुगेका छन् ।

पार्टीभित्र सृजित पछिल्लो विवाद हल गर्ने मनसाय लिएर महासचिब पौडेलले पार्टी अध्यक्ष ओलीको सन्देश लिएर अर्का अध्यक्ष प्रचण्डलाई भेट गर्न विहानै खुमलटार गएका हुन् ।

भोली बस्ने नेकपाको सचिबालय बैठकमा प्रचण्ड पक्षले प्रधानमन्त्री ओलीलाई ‘चेपूवा’ मार्ने लभभग निश्चित भएपछि महासचिब पौडेल समस्या समाधान तर्फ अग्रसर भएको बताइन्छ ।

पार्टी सचिबालयका बहुमत सदस्यहरु प्रचण्डको पक्षमा लागेर आफुलाई अफ्टेरोमा पार्ने निश्चित भएपछि ओलीले हिजो भाइटिकाको दिन समेत प्रचण्ड पक्षका माधब नेपाल तथा बामदेब गौतमलाई बालुवाटारै बोलाएर भेटघाट गरेका थिए । गत शुक्रबार प्रचण्ड पक्षले ओलीका विरुद्ध १९ पृष्ठ लामो राजनैतिक प्रस्ताव पेश गरेपछि नेकपामा ओली र दाहालको तित्तता झनै बढेको छ ।

ओली पक्षले प्रचण्डको गलत प्रस्ताब फिर्ता नहुञ्जेल सचिबालय बैठक बस्न नसक्ने भन्दै प्रचण्डलाई प्रस्ताव फिर्ता गर्न भनेका छन् । तर, प्रचण्ड पक्षले भोली बस्ने बैठक अगाडी १९ पृष्ठको प्रस्ताब फिर्ता नहुने बताइरहेका छन् ।

प्रचण्ड पक्षका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले भने प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रस्ताव आफूहरुको सामूहिक रहेको बताउँदै ओलीले भोलीको सचिबालयमा छलफल गर्नैपर्ने तथा आफुलाई सच्याउनु पर्ने बताएका छन् ।

नेता नेपाल र गौतमले ओलीलाई आफ्नो कार्यशैली सच्याउन चुनौती दिएकालेपनि ओलीलाई पार्टीभित्र संकट उत्पन्न भएको आभाष छ । आज बिहानै महासचिब पौडेल ओलीकै सन्देश लिएर खुमलटार जानू अर्थपूर्ण रहेको देखिएको छ ।

प्रतिक्रिया