काठमाडौंको कुलेश्वरबाट नगदसहित ७ जुवाडे पक्राउ

काठमाडौं । महानगरीय प्रहरीबृत्त कालिमाटीले कुलेश्वरबाट नगद सहित ७ जना जुवाडे पक्राउ गरेको छ । अवैध जुवा खेल्ने/खेलाउने कार्य गरी रहेको भन्ने सूचनाको आधारमा कामपा वडा नं. १४ कुलेश्वरबाट जुवा खेलिरहेका अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।
महानगरीय प्रहरीबृत्त कालिमाटी प्रहरी नायव उपरीक्षक अपिलराज बोहोराका अनुसार कुलेश्वर घर भएका ४४ वर्षीय शिव श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । जुवा खालबाट २ लाख ३८ हजार ८ सय पचास नगद र ७ लाख ९४ हजार ८ सय ७० बराबरको बिभिन्न बैंकको चेक ११ थान, तास १ बुक समेत बरामद गरिएको प्रनाउ बोहोराले बताए ।
उनका अनुसार पक्राउ पर्नेमा श्रेष्ठसहित काभ्रे चौरी देउराली गाउँपालिका वडा नं. ६ घर भई कुलेश्वर बस्ने यादब चौलागाई, धादिङ्ग थाक्रे गाउँपालिका वडा नं. ८ घर भई कलंकी बस्ने राजु पौडेल, चितवन भरतपुर –१३ घर भई कुलेश्वर बस्ने राजिब श्रेष्ठ, केशब प्रसाद मुडवरी, बारा जितपुर घर भई कलंकी बस्ने श्याम तामाङ्ग, कैलाली बर्दगोरिया गाउपालिका वडा नं. ३ घर भई कालीमाटी बस्ने प्रेम बडुवाल रहेका छन् ।
पक्राउ परेका ७ जना विरुद्ध जुवा ऐन अन्तर्गत अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








