सौराहाको पर्यटन: न दसैंमा जम्यो न तिहारमा !

  • ध्रुवराज खनाल

चितवन । कोरोना भाइरस संक्रमणका कारण अझै एक डेढ बर्ष पर्यटन ब्यवसायले गति लिने अवस्था छैन । चैत देखि हाल सम्म मुलुकका पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल शुन्य जस्तै छ ।

देशको तेस्रो पर्यटकीय गन्तव्य सौराहा पनि बिगत ८ महिना देखि सुनसान छ । दसैं र तिहारमा केही चहलपहल बढ्ने यहाँका ब्यवसायिको आशा थियो । तर त्यसको बिपरितनै रह्यो । अघिल्लो बर्ष आन्तरिक तथा बाह्य पर्यटकले खचाखच हुने सौराहामा यस बर्षको न त दसैं न तिहारमा त्यस्तो माहोल भयो ।क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष दिपक भट्टराई दसैं तिहारमा आन्तरिक पर्यटकको चहलपहल हुने आश गरिए पनि सिमीत मात्र पर्यटक आएको बताउँछन् । ‘दसैं तिहारमा आन्तरिक पर्यटकको चहलपहल हुन्छ कि भन्ने थियो,’ संघका अध्यक्ष भट्टराईले भने- ‘नगन्य मात्रामा मात्रै पर्यटकहरु सौराहा आए । बन्यजन्तुको राम्रो बासस्थान रहेको चितवन निकुञ्जकै कारण सौराहा बिश्वमा चिनिएको छ ।’

रेस्टुरेन्ट एण्ड वार एसोसिएसन सौराहाका संस्थापक अध्यक्ष बलराम दहालले टांडी, पर्सा, भण्डाराबाट मात्र पर्यटक आएको बताए । जिल्लामा पर्यटकिय क्षेत्र बिस्तार हुनु पनि सौराहामा पर्यटकको चहलपहल कम भएको उनको दाबी छ । ‘जिल्लाको अन्य क्षेत्रमा पर्यटकीय क्षेत्र बिस्तार हुँदै गएको छ,’ रत्ननगर ६ का वडा अध्यक्ष समेत रहेका एसोसिएसनका सस्थापक अध्यक्ष दहालले भने- ‘अहिले घाटामा ब्यवसाय चलेको छ ।’

कोरोना भाइरसका कारण अझै एक डेढ बर्ष चहलपहल नहुने उनको बुझाइ छ । डेढ बर्ष टिक्न सके ब्यवसाय रहने नत्र धेरै जना यो क्षेत्रबाट पलायन हुने दहालको दाबी छ । दसैं तिहारमा टीका नभएका ,पारिवारिक भ्रमण गर्ने सौराहा आउने गर्छन् । सौराहामा जंगल सफारी, हात्ती सफारी, जिप सफारी, बन्यजन्तु अबलोकन, थारु समुदायको संस्कृति अबलोकन लगायत हेर्न पाइन्छ ।तिहारको टिकाको अघिल्लो दिन बुटवलबाट सौराहा पारिवारिक भ्रमणमा आएकी अर्पना खनालले जिप सफारी मार्फत मनोरञ्जन लिएको बताइन् । सौराहामा झन्डै १२० वटा होटल तथा ७० भन्दा बढी रेस्टुरेन्ट छन् । सौराहाको पप साइटमा भेटिएको उनको समूह बाहेक दुई चार वटा समुहलाइ मात्र हामिले देख्ने मौका पायौ ।

कोरोना भाइरस संक्रमणको डरले गर्दा जिल्ला भित्रकै पन आन्तरिक पर्यटक नआएकाले जिल्लाबाहिर बाट आउछन् भन्ने अवस्था छैन । स्वास्थ्य मापदण्ड अपनाएर यहाँका ब्यवसायीले पर्यटकीय गतिविधिलाई चलायमान बनाउनु पर्छ अनि सरकारले पनि पर्यटन ब्यवसाय टिकाउने गरि योजना ल्याउन आवश्यक छ ।

प्रतिक्रिया