‘नेपाल सम्बतलाई राष्ट्रिय सम्बतका रुपमा प्रयोगमा ल्याउनु पर्छ’ मन्त्री श्रेष्ठ

भक्तपुर । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल सम्बतलाई नेपालको नयाँ सम्बतको रुपमा थालनी गर्नुपर्ने बताएका छन् । नेपाल सम्बत ११४१ को अवसरमा मध्यपुर थिमीमा राष्ट्रिय विभुति शंखधर साख्वाःको प्रतिमामा माल्यापर्ण गर्दै उनले नेपालको आफ्नै सम्बतको रुपमा नेपाल सम्बत् प्रयोगमा लयाउनुपर्ने बताए ।

सबै जाति र भाषाभाषिको अपनत्व हुनेगरी नेपाल सम्बतलाई प्रचलनमा ल्याउनुपर्ने धारणा राख्दै उनले सबैले नेपाल सम्बतलाई नेपालीले कामकाजमा समेत प्रयोग गर्नुपर्ने जिकिर गरे ।

शंखधर साख्वालाई राष्ट्रिय विभुति घोषणा गराउनेदेखि टिकट प्रकाशनसँगै नेपाल भाषा उत्थान नेपाल सम्बत मनाउन महत्वपुर्ण भुमिका खेल्ने पु्र्वमन्त्री एवं मानव अधिकारवादी नेता स्वर्गिय पद्मरत्न तुलाधरको योगदानको चर्चा गर्दै मन्त्री श्रेष्ठले उनको सम्झनामा सरकारले रत्नपार्कमा शालिक स्थापना गर्ने कार्य अन्तिम तयारीमा रहेको जानकारी दिए ।

मन्त्री श्रेष्ठले मंसिर ६ गते रत्नपार्कको नाम शंखधर साख्वा पार्क नामाकरण गरी पार्क परिसर्मा साख्वाः र तुलाधारको पुर्णकदको शालिक अनावरण गरिने जानकारी दिए । गरिब नेपालीको ऋणमोचन गर्ने शंखधर साख्वाःले गरेको योगदानको कदर गर्दै उनले शुरुवात गरेको नेपाल सम्बतलाई सबैले प्रयोग गर्नुपर्ने मन्त्रीको भनाई थियो ।

कार्यक्रममा बोल्दै पुर्वमन्त्री एवं नेपाली काग्रेसका सांसद भीमसेनदास प्रधानले कामकाजीको भाषाको रुपमा नेपाल सम्बतलाई प्रयोगमा ल्याउनुपर्ने बताए । ‘अहिले त नेपाल सम्बत नेवार समुदायले मात्र मानेको जस्तो भएको छ । सबैको अपनत्व हुनेगरी यसलाई व्यापक बनाउनुपर्छ ।’ उनले भने ।

न्युदया भिन्तुना र नेपाल सम्बत मुल समिति गठन गर्दा नेवारबाहेकका जातिलाई पनि समेट्नुपर्ने बताउदै उनले भने ‘नेपाल सम्बत सबै नेपालीको सम्बत हो, अहिलेसम्म किन नेवारको मात्र देखिएको छ ?’ यसलाई सरकारले राष्ट्रिय पर्वको रुपमा मान्यता दिन नसकेको हुनसक्ने भन्दै आगामी वर्ष नेपाल सम्बत मनाउने विषयमा गम्भीर छलफल आवश्यक रहेको उनले बताए ।

उनले अहिलेको सरकारले पुर्ण रुपमा ५ वर्ष सरकार चलाउनुपर्ने धारणा राख्दै भने–‘दुई तिहाइ सरकारले पाँच वर्ष सरकार चलाउनै पर्छ । उनले दुई सरकारले नेपाल भाषालाई कामकाजीको भाषाको रुपमा प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने समेत बताए । पुर्वमन्त्री एवं सांसद महेश बस्नेतले आजको दिनलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउनुपर्ने धारणा राखे ।

बस्नेतले भक्तपुरमा तयार हुन लागेको स्मार्ट सिटीको नाम संखधर साख्वाः राख्नुपर्ने, शंखधर साख्वाःको योगदानलाई कदर गर्दै नेपाल सम्बतलाई सरकारी भाषाको रुपमा प्रयोग गर्नुपर्ने बताए ।

मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले राष्ट्रिय विभुति शंखधर साख्वाको नाममा प्रतिमा सहित पार्क, सोध र अनुसन्धान गर्न पुस्तकालय र सूचना केन्द्र स्थापना गरिएको बताए ।

प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, उपाध्यक्ष ज्ञानराम श्रेष्ठ लगायतले नेपाल सम्बतका संस्थापक साख्वाको योगदानको चर्चा गरेका थिए । मन्त्री श्रेष्ठले निर्माणाधिन शंखधर साख्वाः पार्कको अवलोकन समेत गरेका थिए । नेपाल सम्बत ११४१को अवसरमा काठमाडौं र ललितपुर तथा देशका विभिन्न शहरमा विविध कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया