लुम्बिनीमा सार्कका महासचिव विराकुनले गरे एक रुपैयाँ सहयोग

भैरहवा । बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माणाधीन ‘सेन्चुरी फर युनिभर्सल पिस’ नामक गुम्बा निमार्णको लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव इसाला रुवान विराकुनले नेपाली एक रुपैयाँ दिएर अभियानको सुरुवात गरेका छन् । गुम्बा निर्माणका लागि शनिवार लुम्बिनीमा पुगेर महासचिव विराकुनले एक रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।
लुम्बिनीमा शनिवार आयोजित सार्वभौमिक शान्तिका लागि ‘एक रुपैयाँ’ दिन अभियान कार्यक्रममा सार्कका महासचिव विराकुनले बुद्धको जन्मभूमिमा निर्माण भइरहेको सेन्चुरी फर युनिभर्सल पिसले विश्वभरिका शान्तीप्रेमीहरुको लागि भएकोले यस अभियानमा सहभागी हुन सबैलाई आव्हान गरे ।
विश्वभरका शान्तिप्रेमी बौद्ध धर्मावलम्बी लगायत अन्य धर्म र संस्कृतिसँग सम्बन्धित साधकहरुलेसमेत साधना गर्ने स्थलको रूपमा दुई वर्ष अघिबाट लुम्बिनीमा उक्त गुम्बाको निर्माण भइरहेको छ ।
धर्म गुरु श्याल्पा तेन्जिङ रिन्पोछे शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व शान्तिको अभियानको केन्द्रकोरुपमा विकास गर्न सेन्चुरी फर युनिभर्सल पिस निर्माण गर्न लागिएको बताए। उनले एक रुपैयाँ सहयोग गरेर अभियानको सुरुवात गरिदिनु भएकोमा सार्कका महासचिव विराकुनलाई धन्यवाद दिए ।
युनिभर्सल पिस सेन्टर निर्माण गर्नको लागि ‘एक व्यक्ति एक रुपैयाँ’को अभियान अगाडि सारिएको छ । बुद्धको शिक्षा अनुसार यही मनोवृत्तिले शान्ति, सद्भाव र सहिष्णुता बढाउने विश्वास व्यक्त गर्दै रिन्पोछेले मुठ्ठी दानको अवधारणाबाट यो अभियानको सुरुवात गरिएको बताए।
दीपावलीको अवसर पारेर सुरु गरिएको अभियानमा नेपालमा १ रुपैयाँ बाहिर मुलुकहरूमा १ युएस डलर दान गरेर सहभागी हुन सकिने उनले जानकारी दिए।
लुम्बिनीमा शनिवार सम्पन्न भएको सार्वभौमिक शान्तिका लागि ‘एक रुपैयाँ’ दिन अभियान कार्यक्रममा सार्कका महासचिव विराकुन र श्रीलङ्काका मेडम कृशन्तीका साथै श्रीलंकन विहारका धर्मगुरुको सहभागिता रहेका थियो ।
स्यान्क्चुरीको बाहिरी संरचनाले फक्रँदै गरेको कमलको फूललाई प्रतिनिधित्व गर्नेछ । त्यसै गरी स्यान्क्युरीको हल वा कक्षको मुख्य आकर्षणको केन्द्र सालको वृक्षमुनि मायादेवीको कोखबाट जन्मँदै गरेको भगवान् बुद्धको एउटा विशाल, सुन्दर र सबैको मुन छुने मूर्ति राखिने गरी डिजाइन गरिएको छ ।









