उदयपुरमा ९ जुवाडे पक्राउ, सुन र नगद बरामद

काठमाडौं । उदयपुरमा ९ जना जुवाडे पक्राउ परेका छन् । त्यहाँको त्रियुगा नगरपालिका १० करमगाछिस्थित प्रेमप्रसाद भट्टराईको घरबाट नगरपालिकाको फरक–फरक स्थान घर भएका उनीहरु पक्राउ परेका हुन् ।
जुवा खेलिरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, उदयुपरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी कार्यालयका सूचना अधिकारी (प्रहरी नायब उपरीक्षक) बेद प्रसाद गौतमले मकालु खबरलाई जानकारी दिए । ‘हामीले नियन्त्रणमा लिइसकेका छौं । थप कारबाही र अनुसन्धान अगाडि बढिरहेको छ । हामीले उनीहरुलाई बिहानै पक्राउ गरिसकेका छौं ।’ अधिकारी गौतमले हामीसँग भनेका छन् ।
उनीहरुको साथबाट १ बुङ तास, १७ वटा मोबाइल सेट, १९ वटा कौडा, ६ थान चाबी, २ थान सुनको सिक्री, ३ थान सुनको औंठी, १ लाखको कृषि विकास बैंकको चेक, २ लाख १० हजारको नबिल बैंकको चेकसँगै २ लाख ४७ हजार १ सय १७ रुपैयाँ नगद बरामद गरिएको पनि अधिकारी गौतमले बताए ।
पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका ११ बस्ने वर्ष ४७, ४० र ४१ वर्षीय क्रमसः प्रेम भट्टराई, मन्दिप राई–राजनकुमार राउत र मेखबहादुर राई रहेका छन् । यसैगरी सोही नगरपालिका १० बस्ने वर्ष २० का ईश्वर खड्का, १२ बस्ने ४५ वर्षीय बलबहादुर कार्की, १ बस्ने ४० वर्षीय नविन राई, ८ बस्ने ४२ वर्षीय पुरुषोत्तम कार्की र ३ बस्ने २९ वर्षीय सुनिल चौधरी रहेको छन् ।
प्रहरी नियन्त्रणमा रहेका उनीहरुविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









