शंकर पोखरेललाई दीपशिखाको जवाफ–‘प्रचण्डलाई प्रस्ताव फिर्ता लिनु भन्नु अराजनीतिक र असाङ्गठानिक कुरा हो’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा एवम् राष्ट्रिय युवा संघ, नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रस्ताव (राजनीतिक प्रतिवेदन) फिर्ता लिनु भनेर भन्नु अराजनीतिक र असाङ्गठानिक कुरा कुरा भएको बताएका छन् ।

शुक्रबारको नेकपा सचिवालय बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन फिर्ता लिन आग्रह गरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलप्रति इङ्गित गर्दे आफ्नो आधिकारिक फेसबूकमार्फत् यस्तो जवाफ फर्काएका दीपशिखाले पहिले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले गरेका एकल निर्णय र मनोमानी फिर्ता लिनुपर्ने बताएका छन् ।

यसैगरी दीपशिखाले अध्यक्ष दाहालले भन्दा अगाडि ओलीले आफ्नो मनोमानी फिर्ता लिनुपर्ने उल्लेख गरेका छन् । प्रधानमन्त्रीले आत्मालोचित भएर पार्टीकोको निर्णयलाई मान्नुपर्ने बताएका दीपशिखाले सामूहिकतालाई स्वीकार्ने सार्वजनिक स्वीकारोक्ति गरेपछि मात्रै अध्यक्ष दाहाललाई प्रस्ताव फिर्ता लिनु भन्न मिल्ने विचार राखेका छन् ।

दीपशिखाले पोखरेलले धम्क्याउन खोजेको पनि औंल्याएका छन् । बुझ्ने मान्छेले कम्क्याउने नहुने तर्क गरेका दीपशिखाले लेखेका छन्–‘बैठकका निर्णयहरु मान्नुपर्छ भन्दा, बैठक राखौं भन्दा, छलफल गरौं भन्दा र छलफलका लागी विषयहरु प्रस्तुत हुँदा पार्टी एकता संकटमा पर्छ भन्नु र भ्रममा पार्नु (धम्क्याउनु हो । भ्रममा पार्न र इमान्दार अनि एकताका पक्षपातिहरुमाथि धम्क्याउने कार्य तुरुन्त बन्द गरियोस् ।’

दीपशिखाले थप उल्लेख गरेका छन्–‘पार्टी एकतापश्चात् पार्टी अध्यक्ष कमरेड ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका सबै एकल निर्णय र मनोमानी फिर्ता लिने हो र आत्मआलोचित भएर पार्टी निर्णय र सामुहिकतालाई स्वीकार्ने सार्वजनिक स्वीकारोक्ति गर्ने हो भने प्रचण्डले सचिवालय बैठकमा राखेको प्रस्ताव फिर्ता लिनुस् भन्न मिल्छ होला । नत्र बैठकमा प्रवृतिगत विषयहरुमा छलफलका लागी गरिएको प्रस्ताव फिर्ता लिन आग्रह गर्नुमात्रै पनि अराजनीतिक र असांगठानिक कुरा हो । अर्को विषय, पार्टी र सरकारले बैठकका निर्णयहरु मान्नुपर्छ भन्दा, बैठक राखौं भन्दा, छलफल गरौं भन्दा र छलफलका लागी विषयहरु प्रस्तुत हुँदा पार्टी एकता संकटमा पर्छ भन्नु र भ्रममा पार्नु (धम्क्याउनु हो । भ्रममा पार्न र इमान्दार अनि एकताका पक्षपातिहरुमाथि धम्क्याउने कार्य तुरुन्त बन्द गरियोस् । पार्टी कमिटिमा प्रस्तुत विषय कमिटिमै छलफल हुनदिऊँ । जिम्मेवारहरुले फुटको धम्कि नदिऊँ ।’

यसअघि शुक्रबार (हिजो) बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष दाहालले करिब १९ पेजको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । अर्का अध्यक्ष ओलीको कमीकमजोरी समेटिएको उक्त प्रतिवेदन अध्यक्ष दाहालले नै फिर्ता लिनुपर्ने कुरा मुख्यमन्त्री पोखरेलले बताएका थिए । त्यसपछि दीपशिखाले यस्तो जवाफ दिएका हुन् ।

प्रतिक्रिया