मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु (भिडिओसहित)

अन्ततः प्रधानमन्त्रीले बोलाए नेकपा सचिवालय बैठक
अन्ततः प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीले शुक्रबार (ओलि) अपराह्न ४ बजेका लागि बैठक बोलाएका हुन् । सचिवालय सदस्य तथा महासचिव विष्णु पौडेलले दुई अध्यक्षसँगको परामर्शमा बैठक बस्ने तय भएको जानकारी दिए ।

प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शक्ति संघर्ष चर्किरहेका कारण बैठक राख्ने विषयमा समेत विवाद भइरहेका बेला यो बैठक तय गरिएको हो ।

कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीलाई बैठक राख्न लिखित आग्रह गरेका थिए ।

रासायनिक मल कारखाना नेपालमै खोलिने, अर्थमन्त्रीको नेतृत्वमा कार्यदल
सरकारले नेपालमै रासायनिक मल खोल्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै रासायनिक मल उद्योग खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा गरेका हुन् । कृषकहरुले रासायनिक मलको चरम अभाव झेलिरहेका बेला वर्षौँदेखि कारखाना खोल्ने प्रयासलाई सरकारले मूर्तरुप दिने तयारी गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा रासायनिक मल खोल्न प्रधानमन्त्रीले प्रस्ताव गरेको जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीको प्रस्ताव अनुसार रासायनिक मल उद्योग खोल्न अर्थमन्त्री विष्णु प्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल सदस्य रहेको कार्यदल बनाएकोछ ।

पछिल्लो कोरोना अपडेट : थप १५ जनाको निधन, नयाँ संक्रमितको संख्या कति ?
नेपालमा कोरोना भाइरसबाट हुने कोभिड १९को संक्रमणबाट थप १५ जनाको निधन भएको छ । योसँगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार १ सय ८९ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

यस्तै पछिल्लो २४ घण्टमा १ हजार ९ सय १३ जना नयाँ संक्रमित थपिँदा २ हजार ३ सय ४९ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ९ सय १३ जनासहित देशभर संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ ।

संक्रमितमध्ये १ लाख ६४ हजार ५ सय ९२ जना कोरोना मुक्त भएका छन् । यसैबीच गत २४ घण्टाको समयावधिमा काठमाडौं उपत्यकामा थप ९ सय ७३ नयाँ संक्रमित थपिएका छन् ।

प्रस्तावित ३ राजदूत सर्वसम्मतिबाट अनुमोदित
सरकारबाट विभिन्न देशका लागि प्रस्तावित राजदूतहरु संसदीय सुनुवाई समितिबाट अनुमोदित भएका छन् । बिहीबार बसेको समितिको बैठकले राजदूतहरुमाथि सुनुवाइ गरेको थियो ।

संंयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतको पदमा नियुक्तिका लागि क्रमशः डा युवराज खतिवडा, लोकदर्शन रेमी तथा डा. निर्मलकुमार विश्वकर्मालाई प्रस्ताव गरिएको थियो ।

सुनुवाइ समितिको कार्यविधि, २०७५ बमोजिम डा. खतिवडा, रेग्मी र विश्वकर्मालाई राजदूतमा अनुमोदन गरिएको समितिले जनाएको छ ।

कोेरोना भाइरस नियन्त्रणमा सकियो २० अर्ब, हात लाग्यो शुन्य !
कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि सरकारले २० अर्ब खर्च गरेको छ । सरकारले विगत १० महिनायता कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा नागरिककोे उपचारमा उक्त रकम खर्च गरेको हो ।

सरकारले गत भदौमै खर्च सार्वजनिक गर्दै कोरोना नियन्त्रणका लागि १३ अर्ब ३७ करोड ३१ लाख ५६ रूपैयाँ खर्च भएको बताएको थियो । त्यसपछिका चार महिनामा ६ अर्ब ८१ करोड ५९ लाख रुपैयाँ खर्च भएको विवरण बुधबार सार्वजनिक गरिएको छ । यता विज्ञहरुले भने सरकारले कोरोना नियन्त्रणमा खर्च गरे अनुसार प्रभावकारी काम नभएको बताउँदै आएका छन् ।

अहिले नेपालमा कोरोनाका कारण करिब १२ सय जनाको निधन भएको छ भने २ लाखभन्दा बढी संक्रमित भएका छन् ।

चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने
राष्ट्रिय जनमोर्चा (राजमो)का अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ ।

कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका अध्यक्ष केसीको उपचार खर्च सरकारले बेहोर्ने निर्णय आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुष्टि गरेका हुन् ।

केही दिनपहिले देखि निमोनिया रोगबाट ग्रस्त भएका केसीको स्वाब परीक्षण गर्दा मंगलबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

पहिलेदेखि नै विभिन्न स्वास्थ्य समस्या रहेका केसीको अहिले मेडिसिटी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

यस्तै यता पार्टीले अध्यक्ष केसीको लागि सहयोगमा आह्वान गरिरहँदा केसीपुत्र सचित्र केसीले भने बुवा खतरामुक्त रहेको र खर्च उठाउने बहनामा कोही पनि नफस्न अनुरोध गरेका छन् ।

रोजगारीका लागि स्थानीय तहलाई ३ अर्ब बजेट
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहलाई ३ अर्ब बजेट पठाएको छ । मन्त्रालयका सहसचिव सुमन घिमिरेले ५ सय ६९ स्थानीय तहलाई ३ अर्ब सशर्त अनुदान पठाएको जानकारी दिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत स्थानीय तहको रोजगार सेवा केन्द्रमा सूचिकृत विपन्न बेरोजगार व्यक्तिलाई कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना निर्माण तथा मर्मत कार्यमा संलग्न गराई रोजगारी उपलव्ध गराइने छ ।

नेपाल सरकारले बजेट वक्तव्यमा २ लाख जनालाई रोजगारी उपलव्ध गराउने उल्लेख गरेको थियो। सोही अनुसार हालसम्म ६ अर्ब ८९ करोड स्थानीय तहमा उपलव्ध गराई सकिएको र यसबाट १ लाख ३३ हजार ३ सय २७ जनालाई न्यूनतम १०० दिनको रोजगारी उपलव्ध हुने श्रम मन्त्रालयको अपेक्षा छ ।

चालु आर्थिक वर्षमा थप ३ अर्व ४४ करोड ७० लाख अनुदान रकम छिट्टै बाँडफाँड गरी पठाइने सहसचिव घिमिरेले बताए ।

भूमि आयोगले थाल्यो काम, मापदण्ड कसिलो बनाएर काम गर्न मन्त्री अर्यालको निर्देशन
भूमिहीन, सुकुम्वासीलाई जग्गा प्रदान गर्नका लागि सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगले कामको थालेको छ । आयोगले पहिलो चरणमा देशभर रहेका ७५३ स्थानीय तहमध्ये १०० वटा स्थानीय तहमा काम अगाडि बढाउने बताइएको छ ।

सोही अन्तर्गत आयोगले बिहीबार एक कार्यक्रमको आयोजना गरी केही स्थानीय तहसँग सम्झौता गरेको छ । कार्यसम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले निम्नस्तरको वर्ग प्राथमिकतामा पर्नुपर्ने बताइन् ।

अहिलेसम्म मुलुकको कुनैपनि कुनामा एक टुक्रा पनि जमिन नभएको भूमिहीन, सुकुम्वासी वर्गलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडी बढाउन स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गर्दै गरेकी छन् ।

पहिलो चरणमा १०० स्थानीय तहमा आयोगले काम गर्ने आयोगका उपसचिव बसन्तप्रसाद पन्थीले जानकारी बताए ।

विश्वकप छनोटको खेल मार्च र जुनमा
एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटको दोस्रो चरणको बाँकी रहेका खेलहरु अर्काे वर्ष जुनमा सक्ने योजना अघि सारेको छ ।

एएफसीको बुधबार बसेको बैठकले विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु जुन १५ सम्म सक्ने निर्णय गरेको हो ।

विश्वव्यापी बनेको कोरोना महामारीका कारण एसियाली स्तरको विश्वकप र एसियन कपको छनोटका खेलहरु गतवर्षको मसिंरदेखि छनोटका खेलहरु स्थगित छन् ।

कोरोना भाईरसको महामारीको कारण यसअघि अक्टोबर र नोभेम्बरमा तय गरिएको छनोट खेलहरु स्थगित गरिएको थियो । छनोट अन्तर्गत बाँकी रहेको म्याच डे ७ र ८ को खेल मार्चमा हुनेछ । यस्तै म्याच डे ९ र १० को खेल जुनमा हुने एएफसीले जनाएको छ ।

कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब घरेलु मैदानमा तीन खेल खेल्न बाँकी रहेको छ । नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी छ । नेपालले सबै अवे र एक होम खेल खेलिसकेको छ ।

जो बाइडेन निर्वाचित जर्जियामा पुनः मतगणना
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा झिनो मतान्तरका साथ जो बाइडन निर्वाचित भएको जर्जियामा हातैले पुनः मत गणना गरिने भएको छ ।

सो राज्यमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र राष्ट्रपतिमा निर्वाचित बाइडेनबीच करिब १४ हजार मतको अन्तर छ । निकै कडा प्रतिस्पर्धा देखिएका कारण सो राज्यले गत हप्ता नै पुनः मतगणना गरिने जानकारी गराएको थियो ।

हातले नै मत गन्न अनुरोध गरेको ट्रम्पको चुनावी अभियान सञ्चालन गरेको टोलीले यसलाई महत्वपूर्ण कदम भएको बताएको छ । रिपब्लिकन पार्टीका तर्फबाट जर्जियामा चुनावी अभियानको नेतृत्व गरिरहेका डग कोलिन्सले सञ्चारकर्मीहरूसँगको प्रतिक्रियामा यो निष्ठा र पारदर्शिताको जीत भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनले डोनाल्ड ट्रम्पले आफूले राष्ट्रपतीय निर्वाचनमा हार व्येहोरेको स्वीकार नगर्नुले ‘राष्ट्रपतिको बिरासतलाई सहयोग नगर्ने’ बताएका थिए ।

 

प्रतिक्रिया