७७ वटै जिल्लाका प्रहरी प्रमुख र सरकारी वकिल कार्यालयका प्रमुखहरूलाई निर्देशन

काठमाडौँ । महान्यायाधिवक्ता अग्नि प्रसाद खरेल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ७७ वटै जिल्लाका प्रहरी प्रमुख र सरकारी वकिल कार्यालयका प्रमुखहरूलाई बिहीबार निर्देशन सम्बोधन गरेका छन् ।

महान्यायाधिवक्ता खरेलले महान्यायाधिवक्ताको कार्यालय सिंहदरबार र प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टरबाट अनलाइन मार्फत निर्देशन सम्बोधन गरेका हुन् ।

उक्त अवसरमा महान्यायाधिवक्ता खरेलले पछिल्लो समयमा गम्भीर प्रकृतिका फौजदारी कसुरहरूमा पनि स्थानीय स्तरमा मेलमिलाप हुने र अपराधलाई लुकाउन लगाउने जस्ता कार्यहरू भइरहेकोप्रति महान्यायाधिवक्ताको कार्यालयले गम्भीर रूपमा लिई यस्ता गैर कानुनी कार्यमा संलग्न व्यक्तिहरूलाई कारवाहीको दायरामा ल्याउन गरिएको आग्रहलाई स्थानीय तहसम्म सम्प्रेषण गरिएको जानकारी गराए।

यस्ता कार्यलाई निशंकोच कानुनी प्रक्रियामा ल्याई कानुन कार्यान्वयनको प्रभावकारिताको सन्देश दिनुपर्नेतर्फ क्रियाशील हुन र यस्ता विषयमा स्थानीय तहका पदाधिकारी एवम् विद्यालय तथा सामुदायिक संस्थाका प्रतिनिधिसँग समेत सहकार्य गरी कानुनी व्यवस्थाको प्रचार प्रसार गर्न र समुदायलाई सचेत गराउनका लागि सम्बन्धित प्रहरी कार्यालय एवम् सरकारी वकिल कार्यालयहरूले साझा प्रयास गर्न निर्देशन दिए ।

हालसम्म गरिएका भौतिक सुधार र मानव संसाधनको विकासले प्रहरी तथा सरकारी वकिलहरूको व्यावसायिकता अभिवृद्धि भई कार्य सम्पादनमा देखिनुपर्ने आवश्यकता रहेको र यसबाट नै महान्यायाधिवक्ताको कार्यालयले घोषणा गरेको अभियोजन सुधार वर्षले सार्थकता प्राप्त गर्नेछ भन्ने कुरामा उनले विश्वास प्रकट गरे ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अपराध अनुसन्धानको हालको तथ्यांकीय अवस्थासहित वस्तुस्थितिको विश्लेषण गर्दै प्रहरी र सरकारी वकिलहरूले आपसी समन्वय र सहकार्य गर्न दुवै निकाय क्रियाशील हुन जरुरी रहेको बताए। न्यायका लागि आउने व्यक्तिसँग सभ्य व्यवहार गर्नुपर्ने उल्लेख गर्दै उनले भने, “ दुवै निकायको संयुक्त प्रयासबाट नै नागरिकहरूले न्याय पाउँछन् ।”

प्रमाणमुखी अनुसन्धानमा जोड दिँदै उनले भने, “प्रमाण सङ्कलन गर्ने हो, सृजना गर्ने होइन, सबुत प्रमाण ग्राह्य हो होइन निर्धारण गरी ग्राह्य प्रमाण मात्र सङ्कलन गर्ने दिशामा अनुसन्धान निर्देशित हुनुपर्छ ।” अपराध अनुसन्धानलाई प्रभावकारी बनाउनका लागि आवश्यक सबै प्रकारका सहयोगका लागि प्रहरी प्रधान कार्यालयको सहयोग रहने प्रतिबद्धता समेत उनले व्यक्ति गरे।

वरिष्ठतम नायव महान्यायाधिवक्ता पद्यप्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नायव महान्यायाधिवक्ता विश्वराज कोइरालाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।

महान्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा नायब महान्यायाधिवक्ताहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, महान्यायाधिवक्ता, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख, ७७ वटै जिल्लाका सरकारी वकिल कार्यालयका प्रमुखहरू र जिल्ला प्रहरी प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रतिक्रिया