बाबुराम भट्टराईको प्रश्न–‘शोख शान सबै चाहिने, नाउँ चाहिँ किन कम्युनिष्ट हँ ?’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले शोक शान सबै चाहिने व्यक्ति कम्युनिष्ट हुन नसक्ने प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली संखुवासभाको किमाथाङ्काको भ्रमणमा जाँदा प्रधानमन्त्री सरकारी निवास बालुवाटारबाटै हेलिकोप्टरमार्फत् उडेको विषयमा अध्यक्ष भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

बिहीबार (आज) आफ्नो आधिकारिक तथा प्रमाणित ट्वीटर ह्याण्डलमार्फत् यस्तो प्रतिक्रिया दिएका अध्यक्ष भट्टराईले थप लेखेका छन्–‘शोख र शान सबै राजा–रानीको जस्तो चाहिने, नाउँ चाहिँ किन ‘कम्युनिष्ट’ राख्नुपर्ने रहेछ हँ ? जुन गोरूको सिंग छैन उसको नाउँ तिखे?’

यसअघि प्रधानमन्त्री हिजो मात्रै संखुवासभाको भ्रमण गरेर बेलुका काठमाडौं फर्किएका थिए । संखुवासभा पुगेर समग्र विकास निर्माणको अवलोकन गरेका प्रधानमन्त्रीले फरक प्रसङ्गमा कसैले चाहँदैमा वा भन्दैमा नेकपा नफुट्ने बताएका थिए ।

केही दिनदेखि आफू र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच तनाव सिर्जना भएपछि संखुवासभा पुगेर त्यस्ता प्रतिक्रिया दिएका ओलीले अन्ततः नेकपा सचिवालय बैठक बोलाएका छन् । बैठक भोलि (शुक्रबार) अपराह्न ४ बजेका लागि बालुवाटार बोलाइएको पार्टी महासचिव विष्णु पौडेलले जानकारी दिएका छन् । अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरुले प्रधानमन्त्रीलाई नेकपा सचिवालय बैठक बोलाउन दबाब दिइरहेका थिए ।

प्रतिक्रिया