‘पद नपाए पनि मेरो गुजारा चल्छ, राजदूत भएमा आर्थिक कूटनीतिमा ध्यान दिनेछु’

काठमाडाैं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले कर प्रणाली लगायतमा आफूले गलत गरेको भए छानविन गर्न संसदीय समितिलाई आग्रह गरेका छन् । अमेरिकाका लागि राजदूत सिफारिस भएका खतिवडाले आज (बिहीबार) संसदीय सुनुवाई समितिमा यस्ताे बताएका हुन् ।

‘अर्थमन्त्रीको कार्यकाल सकियो भनेर यसबाट मैले उन्मुक्ति पाउन सक्दिनँ । नीतिगत निर्णयमा फरक सोच होलान् तर गलत नियतबाट मैले निर्णय गरेको छैन । कर प्रणाली लगायतमा गलत गरेको भए छानविन गर्न आग्रह गर्दछु,’ उनले भने ।

यस्तै पूर्वमन्त्री खतिवडाले पद नपाए पनि गुजारा चल्ने भन्दै आफू राजदूत भएमा आर्थिक कूटनीतिमा ध्यान दिने बताए । उनले भने- ‘म एक व्यवसायिक व्यक्ति हुँ । पद नपाए पनि मेराे गुजारा चल्छ । यदी म राजदूत नियुक्त भएँ भने आर्थिक कूटनीतिमा ध्यान दिन्छु । नेपालको भूमिका अन्तर्राष्ट्रिय फोरममा उभ्याउने प्रयास गर्छु ।’

संसदीय समितिमा द्वीपक्षीय सहयोग र उच्चस्तरीय भ्रमणको पहल पनि गर्ने स्पष्ट पार्दै मन्त्री खतिवडाले जुन भूमिका दिएपनि स्वीकार गर्नुकाे विकल्प नरहेकाे बताए । राज्यले दिएको जिम्मेवारीमा भूमिका खोज्ने तर प्रोटोकल हेर्ने कुरा नभएको पनि उनले बताए । उनले भने, ‘मैले बुझेसम्म त्यहाँका राजदूतको प्रोटोकल मन्त्री सरह नै छ । जुन भूमिका दिइन्छ स्वीकार गर्नुको विकल्प छैन ।’

उनले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताकाे विषयमा पनि बाेलेका छन् । संसदीय सुनुवाईका क्रममा सोधिएका प्रश्नको जवाफमा आफूले सहजीकरणको भूमिका खेल्ने बताएका छन् । ‘अहिले मेरो भूमिका परिवर्तन भएको छ । एसमीसीलाई पारित गराउनका लागि अर्थमन्त्रीका रूपमा यसो गरौं र उसो गरौं भन्ने हुन्थ्यो । अब परराष्ट्र मन्त्रालयले जे निर्देशन दिन्छ त्यो काम गर्ने हो । यसमा सहजीकरणकाे भूमिका खेल्नेछु’, पूर्वमन्त्री खतिवडाले भने ।

प्रतिक्रिया