२०७८ अघि नै काठमाडौंवासीको धारामा मेलम्चीको पानी : सूर्य थापा

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मेलम्चीकाे पानी काठमाडाैं ल्याउने चार दशक लामाे सपना कार्यान्वयनकाे नजिक आइपुगेकाे बताएका छन् ।
आज (बिहीबार) सामाजिक सञ्जाल फेसबुकमा एक लामाे स्टाटस लेख्दै उनले यस्ताे बताएका हुन् । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना पूरा हुने अन्तिम चरणमा पुगेको उनले लेखेका छन् ।
सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौंको सुन्दरीजल ल्याई राजधानीबासीलाई स्वच्छ र स्वस्थ खानेपानी वितरणको सपना कुनै अन्यथा परिस्थिति सिर्जना गरिएन भने नयाँ बर्ष २०७८ को आगमन अघि नै व्यवस्थित रूपमा उपभोक्ताले आ-आफ्नो घर र धारामा उपलब्ध हुने उनले बताए ।
‘अहिले २७ किमी लामो सुरूङबाट छिट्टै १७ करोड लिटर पानी ल्याउने तयारी रहेको छ । सुरूङभित्रका गेटहरूको पुनस्डिजाइन अनुरूप बलियो पुनस्निर्माणको काम धमाधम भइरहेको छ । र, आउँदो मंसिरभित्रै सुरूङमा पानी पठाउने र परीक्षण गर्ने गरी तयारी अन्तिम रूपमा भइरहेको छ’, उनले लेखेका छन् ।

यस्तै उनले यारी र लार्केबाट थप ३४ करोड लिटर पानी ल्याउने हिसाबले हेड वर्क्सको तदनुरूप निर्माण तीब्र रूपमा चलिरहेको जानकारी दिए । उनका अनुसार सुरूङ जम्मा ५१ करोड लिटर पानी ल्याउन सकिने गरी तयार भइसकेको छ । जम्मा २९ अर्ब बजेट लागतमा निर्माण भइरहेको यस आयोजनाले राजधानीमा पानीको संकट र प्यास मेटाउन महत्त्वपूर्ण योगदान गर्ने विश्वास सर्वत्र गरिएको छ ।
उनले लेखका छन्- ‘मेलम्चीको पानी ल्याई काठमाडौंका सडक पखालिदिने भनी तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालको आम निर्वाचनमा भाषण गर्नुभएको धेरैलाई सम्झना नै छ । तर उहाँले दुई पटक प्रधानमन्त्री बन्दा आयोजना अघि बढाउन कुनै सुरसार सम्म गर्नुभएन । तर आज तीन दशकपछि, अझ उहाँको अवशान भएको पनि करिब एक दशकपछि यो आयोजना पूरा हुन गइरहेको छ ।’
वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको सफल नेतृत्वका कारण नै यो सम्भव भएकाे उनकाे दाबी छ । आफूसहित हिजो प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, सम्बन्धित क्षेत्रबाट प्रतिनधिसभाका सांसद शेरबहादुर तामाङ, विकास पूर्वाधार विज्ञ ई. गजेन्द्र थपलिया, जिल्ला समन्वय समितिका प्रमुख विष्णुगोपाल तामाङ, खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासे, आयोजना प्रमुख तिरेश खत्रीसहितको टोलीले यस आयोजनाको कार्य प्रगतिको स्थितिको स्थलगत र समग्र निरीक्षण गरेको पनि उनले बताए ।
केही समयअघि इटालियन ठेकेदार कम्पनी भागेपछि आयोजनालाई श्रम र सामान आपुर्ति गरी हालसम्म भुक्तानी पाउन नसकेका पीडितहरूका तर्फबाट त्यस अवसरमा आफ्ना समस्याहरू अविलम्ब सुनुवाइका लागि ध्यानाकर्षण पत्रसमेत प्रस्तुत गरिएको पनि उनले जानकारी दिए । जसमा स्थानीयले करिब ३६ करोड र जम्मा १ अर्ब ३२ करोड रूपैयाँ बराबरको भुक्तानी पाउन बाँकी रहेको उल्लेख गरिएको उनले बताए । यस समस्याको विवेकसम्मत सम्बोधन गरेर अघि बढ्दा मेलम्ची खानेपानी आयोजनाको सफल कार्यान्वयन अन्तिम चरणमा पुगेको स्पष्ट भएको उनकाे भनाइ छ ।
यसअघि गत असार महिनामा सुरूङकाे परीक्षण गरिएकाे थियाे । परीक्षणका क्रममा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर आगामी महिनाभित्रमा पुनः परीक्षण गर्न लागिएको छ । त्रुटि सच्याउने काम मंसिरको दोस्रो सातासम्म सकिने बताइएकाे छ ।
मंसिरसम्म त्रुटि सच्याए पनि काठमाडौँमै पानी झार्न भने माघ मसान्तसम्म लाग्ने देखिएको छ । सुरुङमा पानी पठाउन थालिएको दुई महिनासम्म परीक्षण गर्न समय लाग्ने खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताएका छन् ।









