मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु (भिडिओसहित)

विवाद हुने बित्तिकै नेकपा फुटिहाल्दैन : प्रधानमन्त्री ओली
नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले पार्टीमा विवाद हुँने बित्तिकै पार्टी नफुट्ने बताएका छन् ।
संखुवासभाको किमाथान्का नाकालगायत अरुण तेस्रोको बाँध अवलोकनपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कसैले चाहँदैमा पार्टी विभाजन नहुने दाबी गरेका हुन् ।
पूर्वी क्षेत्रको अवलोकनमा निस्किएका ओलीले आफ्नो नेतृत्वको सरकार गठन भएपछि विकास निर्माणले गति लिएको पनि बताएका छन् ।
बुधबार बिहान संखुवासभामा विकास निर्माण अवलोकन गर्न गएका ओली अहिल्यै काठमाडौं फर्कने कार्यक्रम छ ।
बामदेवको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, मन्त्री बन्ने बाटो खुल्यो
सत्तारुढ दल नेकपाका उपाध्यक्ष तथा राष्ट्रिय सभा सांसद बामदेव गौतमको नियुक्ति बदरको माग गर्दै सर्वाेच्चमा दायर भएको रिटमा अन्तरिम आदेश नहुने भएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलाशले उक्त रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । योसँगै बामदेव मन्त्री हुने बाटो खुलेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत १२ असोजमा गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग गर्दै सर्वाेच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्चले गौतमको राष्ट्रिय सभा सदस्य पद यथास्थितिमा राख्न र कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो । पछिल्लो निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा बर्दियाबाट पराजित गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनित गरेकी थिइन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबारलाई स¥यो
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि २८ गते शुक्रबारका लागि सारिएको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमिति बैठक पर्सि २८ गते बस्ने जानकारी गराएका हुन् ।
यसअघि बैठक बिहीबार दिउँसो १ बजेका लागि तय गरिएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको माग अनौपचारिक बैठकबाट सम्बोधन गर्ने प्रयासले असफल हुँदा पटक–पटक बैठक स्थगित हुँदै आएको छ ।
यसअघि २१ गते शुक्रबारका लागि बोलाइएको बैठक पनि वरिष्ठ नेता पौडेल पक्षका मागमा सहमति नजुटेपछि सोमबारका लागि सारिएको थियो । आन्तरिक विवादलाई अनौपचारिक बैठकमै टुंग्याउन पौडेल पक्षले जोड दिँदै आएको छ ।
आजको कोरोना अपडेटः थप २४ जनाको निधन, संक्रमित कति ?
नेपालमा कोरोना संक्रमणका कारण थप २४ जनाको निधन भएको छ । योसँगै नेपालमा संक्रमणबाट निधन हुनेको संख्या १ हजार १ सय ७४ पुगेको छ ।
यस्तै गत २४ घण्टामा २ हजार ५ सय ६९ नयाँ संक्रमित थपिएका छन् भने १ हजार ६ सय ६६ जना निको भएर घर फर्किएका छन् ।
योसँगै नेपालमा संक्रमितको कूल संख्या २ लाख २ हजार ३ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
निजी क्षेत्रको साथबिना अर्थतन्त्र गतिशिल बन्दैनः अर्थमन्त्री पौडेल
अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको आत्मविश्वास र मनोबल नबढाइकन अर्थतन्त्रलाई गतिशिल बनाउन नसकिने बताएका छन् । बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रबिना अर्थतन्त्रलाई गतिशिल बनाउन नसकिने बताएका हुन् ।
उनले कोभिडले सिर्जना गरेको चुनौतीलाई परास्त गर्दै अर्थतन्त्रलाई पुनर्उत्थान गर्न, रोजगारीका अवसर बढाउन र उत्पादन बढाउने काम निजी क्षेत्रबिना सम्भव नभएको बताए ।
लगानी बोर्डद्वारा ३८ अर्बको विदेशी लगानी स्वीकृत
लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि ३८ अर्ब बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । बोर्डका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मङ्गलबार बसेको बोर्डको ४५ औँ बैठकले तीन ठूला परियोजनाका लागि ३८ अर्ब ६८ करोड बराबरको लगानी स्वीकृत गरेको हो ।
सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने ७७ दशमलव ५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत् परियोजनाका लागि १७ अर्ब ६२ करोड ४० लाख बराबरको विदेशी लगानी स्वीकृत गरिएको बोर्डका प्रवक्ता धर्मन्द्रकुमार मिश्रले जनाकारी दिए । उनका अनुसार ५७ मेगाावाटको हिमचुली दोर्दी जलविद्युत् परियोजनाका लागि १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाटको दूधखोला जलविद्युत् परियोजनाका लागि १० अर्ब ४३ करोड ६० लाख लगानी स्वीकृत भएको हो ।
‘निधि सभापतिमा उठे गुटको विभाजन रहँदैन’ डा. रिजाल
कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले पार्टीको १३ औं महाधिवेशनमा सभापतिका धेरै उम्मेद्वार हुँदा त्यो सकारात्मक नै हुने बताएका छन् ।
आज विहान ट्विट गर्दै नेता रिजालले उपसभापति विमलेन्द्र निधि समेत सभापतिको उम्मेद्वार भए पार्टीका लागि सकारात्मक भएको टिप्पणी गरेका छन् । उपसभापति निधि सभापतिको उम्मेद्वार भए पार्टीभित्र गुटको विभाजन समेत नरहने उनको भनाई छ । रिजालले निधिले सफलता पाउने नपाउने परीक्षण र परको कुरा भएको बताएका छन्
बर्तमान पार्टी सभापति शेर बहादुर देउवालाई कुनै समय लामो साथ दिएका डा. रिजाल अहिले देउवाप्रति रुष्ट छन् । गएको निर्वाचनमा पार्टीले लज्जास्पद हार व्यहोर्नुमा पार्टी सभापति मुख्य जिम्मेवार भएको भन्दै उनले देउवा गुटबाट बाहिरिएका हुन् ।
कोरोना रोकथाम र उपचारका लागि रू. ६ अर्ब ८१ करोड निकासा
सरकारले कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि यो आर्थिक वर्षमा ६ अर्ब ८१ करोड रूपैयाँ निकासा गरेको छ ।
स्वास्थ्य तथा जनसंखया मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सरकारले आर्थिक वर्ष २०७७–७८ मा कोरोना रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका लागि ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रूपैयाँ विनियोजन गरेको हो ।
यसमा हाइ डिपेन्डेन्सी यूनिट (एचडीयू) लागि विनियोजन गरिएको ३ अर्ब २५ करोड रूपैयाँ समेत समावेश भएको डा. गौतमले बताए ।
आइपिएलको १३औँ सिजनको उपाधि पनि मुम्बई इन्डियन्सलाई
इन्डियन प्रिमियर लिग (आइपिएल) १३औँ सिजनको उपाधि पनि मुम्बई इन्डियन्सले जितेको छ । गएराति भएको फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बई पचौँ पटक उपाधि जित्न सफल भएको हो । मुम्बईले यसअघि सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो ।
दिल्लीले दिएको १५७ रनको लक्ष्य मुम्बईले १८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्दै उपाधिमाथि कब्जा जमाएको हो । योसँगै पहिलो पटक फाइनलमा पुगेको दिल्ली उपाधि जितेर इतिहास रच्नबाट बञ्चित भएको छ ।
निरन्तर ५० वर्ष बहराइनका प्रधानमन्त्री भएका खालिफाको निधन
संसारमै सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बन्न सफल बहराइनका प्रधानमन्त्री शेख खालिफा बिन सलमाल अल खालिफाको निधन भएको छ । अमेरिकामा उपचाररत खालिफाको निधन भएको बहराइनको राजदरबारले पुष्टि गरेको छ ।
बहराइनमा सन् १९७० देखि प्रधानमन्त्रीको पदमा रहेका खालिफाको ८४ वर्षको उमेरमा निधन भएको हो ।
पाँच दशकसम्म प्रधानमन्त्री रहने उनी विश्वको पहिलो व्यक्ति हुन् ।








