काेभिड महामारीमा तिहार : के खाने, के नखाने ?

  • सुजाता लिम्बु

विराटनगर । नेपालीहरुको दाेस्राे ठुलो पर्व तिहार नजिकिँदै छ । अन्य समयभन्दा चाडपर्वमा मासु बढी खाने गरिन्छ । साथै तिहारमा बढी चिल्लो, गुलियो, अमिलो, पिरो र भाइ मसलाको बढी प्रयोग हुन्छ ।

तर मासु, चिल्लो, गुलियो, अमिलो साथै मसलेदार खानाको प्रयोग कम गर्दा नै स्वास्थ्यका लागि फाइदा पुग्ने विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका डाक्टर अनिल यादव बताउँछन् । उनी भन्छन्,- ‘चाडपर्व भनेको नै मिठो खाने र रमाईलो गर्ने भन्ने बुझिन्छ । यो समयमा चिल्लो, अमिलो पिरो, गुलियो खाँदै नखाने भन्ने पनि होइन तर मात्रा मिलाएर खानु राम्राे हुन्छ ।’

पछिल्लाे समय महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमणकालिन अवस्थामा बिरामीले भने अलि बढी नै ध्यान दिनुपर्ने उनकाे सुझाव छ । ‘विशेषगरी सुगर, प्रेसर तथा मुटुका बिरामीहरुले अत्याधिक चिल्लाे, पिरो, नुनिलो, गुलियो साथै मसालेदार खानेकुरा खानु हुँदैन । यसलाई बिरामी भएको भान्सामा प्रयोग कम नै गर्नुपर्छ ।’

डाक्टर यादवका अनुसार प्रेसर र मुटुका बिरामीले नुनको प्रयोग कम गर्नुका साथै सुगरका बिरामीले चिनीबाट बनेका परिकार खानु हुँदैन । उनी भन्छन्, ‘महामारीका अवस्थामा साधारण व्यक्ति होस् या दिर्घरोगी दुवैले चाडपर्व आउनु केहि दिन अगाडी नै नजिकको चिकित्सकसँग परामर्श लिए चाडपर्व आरामदायी तरिकाले मनाउन सकिन्छ ।’

यो समय कोरोना महामारीको अवस्था भएकाले चाडपर्वको बेला दीर्घ रोगीहरुले नियमित औषधि सेवानलाई ध्यान दिने, एकापसमा भेट गर्दा सकेसम्म यो समय भेटघाटलाई कम नै गर्दा उचित रहने डाक्टर यादवको भनाइ छ । हरेक बिरामीले औषधि, नियमित व्यायामका साथै खानपानमा धेरै ध्यान दिनुपर्ने उनी बताउँछन् ।

तिहारको बेलामा प्रयोग हुने भाइ मसला स्वास्थ्यका लागि फाइदाजनक भएपनि यस्ता खालका खानेकुरा खाँदा पनि मात्रा मिलाएर खानुपर्ने डा. यादव बताउँछन् । काजु, बदाम, नरिवल, किसमिस लगायतका खानेकुराहरुमा शरीरका लागि चाहिने भिटामिन, मिनरल्स लगायतका तत्वहरु पाइने भएकाले यस्ता खानेकुराहरु खाँदा पनि मात्रा मिलाएर खाने गनुपर्छ ।

चाडपर्वको समय मिठाइ बढी खाएको अवस्थामा स्वास्थ्यमा खराबी देखिए नजिकको चिकित्सकसँग परामर्श गरी परिक्षण गराउनुपर्ने डाक्टर यादवको सुझाव छ । उनी भन्छन्,‘तिहारमा प्रयोग गरिने भाइ मसलाहरुमा क्यालोरी धेरै हुन्छ । जस्तै काजु एकसय ग्राममा ५ सय क्यालोरी हुन्छ, किसमिसमा सय ग्राममा ५ सय क्यालोरी हुन्छ । त्यसैले यी खानेकुराहरू मात्रा मिलाएर खाए स्वास्थ्यका लागि फलदायी हुन्छ ।’

प्रतिक्रिया