चुराेट चाेरेकाे विषयमा हत्या, काठमाडाैं आउँदै गर्दा बाटाेबाटै अभियुक्त पक्राउ

काठमाडौं । २५ वर्षीय कृष्ण चाैधरीकाे हत्या अभियाेगमा पक्राउ परेका प्रेम भन्ने नन्दलाल श्रेष्ठलाई प्रहरीले सार्वजनिक गरेकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पत्रकार सम्मेलन गर्दै २३ वर्षीय प्रेम भन्ने नन्दलाल श्रेष्ठलाई सार्वजनिक गरेको हो ।

श्रेष्ठले गएकाे असाेज २२ गते राति करिब साढे ८ बजे कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ बसुन्धारा पार्क नजिकै कृष्णकाे हत्या गरेका थिए । हत्यापछि खाेजी गर्ने क्रममा प्रहरीले श्रेष्ठलाई मंगलबार दिउँसो तनहुँ आबुखैरेनी नगरपालिकाबाट रिक्सा लिएर काठमाडाैंतर्फ आउँदै गर्दा नियन्त्रणमा लिएको थियाे, अनुसन्धान पश्चात् बुधबार सार्वजनिक गरेकाे हाे ।

कृष्ण दाङको घोराइका हुन् भने प्रेम सिन्धुली सुनकोशी गाउँपालिका वडा नम्वर १ कुशेश्वर दुम्जाका हुन् । असाेज पहिलाे साता मात्रै सिन्धुलीबाट पाेखरा पुगेका प्रेमकाे भेट असाेज २२ मा कृष्णसँग भएकाे थियाे । प्रेम रिक्सा चलाएर पाेखरामा जिविकाेपार्जन गर्दै आएका थिए भने कृष्ण श्रीमतीसँगै पोखरामा बस्दै आएका थिए ।

पहिलाे भेटमै नजिकिएका उनीहरूले त्याे साँझ सँगै बसेर रक्सी खाएका थिए । त्यसपछि कृष्णले श्रीमतीले खाना पकाएको भन्दै खानका लागि आफ्नो कोठामा प्रेमलाई सँगै लिएर गएका थिए । यसबारे प्रहरी अनुसन्धान खुलिसकेकाे छ ।

बसुन्धारापार्क स्थित कोठामा पुगेर दुवैले खाना खाएको र साे क्रममा कृष्णकी श्रीमतीले आफ्नो चुरोट हराएको भनेपछि दुई बीच विवाद भएको थियो । विवादका क्रममा कृष्णले हातपात गर्न थालेपछि प्रेमले कृष्णले उठाएकाे अँगेनोको ढुङगाले उल्टै प्रेमले कृष्णकाे टाउकोमा पटकपटक हानेर अनुसन्धानमा खुलेकाे तथा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया