पाँच जिल्लाबाट अवैध लागूऔषध सहित ११ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । विभिन्न पाँच जिल्लाबाट अवैध लागूऔषध सहित ११ जना पक्राउ परेका छन् ।

झापा, बिर्तामोड नगरपालिका-२ फुलबारी टोलबाट ५ ग्राम ७ सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय मोहन कुमार ओली, २४ वर्षीय दयालाल राजबंशी, ३१ वर्षीय संजय कुमार राजबंशी र २० वर्षीय अरुण कुमार राजबंशी रहेका छन् । मोहन कुमार ओलीको घरमा लागूऔषध खरिद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै मोरङ, बिराटनगर महानगरपालिका-४ नोबेल नहरबाट करिब ५ केजी ७ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकुटा सागुरीगढी गाउँपालिका-९ बस्ने ४० वर्षीया सिता राई र २० वर्षीया बबिता राई रहेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सप्तरी, खडक नगरपालिका(३ बनरझुल्लास्थित आँपको बगैंचाबाट करिब १ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ७४ वर्षीय रामरुप दास सरदार र २८ वर्षीय यसबन्त चौधरी रहेका छन् । सरदारले चौधरीलाई उक्त गाँजा बेचिरहेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

बाँके, कोहलपुर नगरपालिका-११ बसपार्क नजिकै भेरी गेष्ट हाउसबाट पनि ७ केजी अवैध लागूऔषध अफिम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जाजरकोट नलगाड नगरपालिका-९ बस्ने ३३ वर्षीय बीरेन्द्रमान सिंह र ४५ वर्षीय जय बहादुर सिंह रहेका छन् । उक्त गेष्ट हाउसको कोठा नम्बर १०५ मा जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले तालसी गर्दा उनीहरुको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारेको हो । साथै प्रहरीले उनीहरुले प्रयोग गरेको लु५४ प ६२२९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

सिरहा, लहान नगरपालिका-५ स्थित रविन्द्र कोल्ड स्टोरबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ट्याबलेट ८४ पिस, स्पास्मो १ सय १५ पिस, १ सय एमएलको टोसेक्स २ बोतल र १ सय एमलको डाईलेक्स डिसि १ बोतल सहित लहान नगरपालिका-४ बस्ने १९ वर्षीय राजु सुडीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लाहानबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया