सडक पेटीमा बस्नेहरुको आङ ढाक्दै समाजसेवी युवाहरु

विराटनगर । ‘नि:शुल्क खाना खुवाउने हाम्रो अभियान’ का युवा समुहले सडक पेटीमा बस्दै आएकालाई न्यानो लुगा वितरण गरेको छ । जाडो महिना भित्रिँदै गर्दा सडक पेटीमा जीवन व्यतित गर्ने कोहि पनि मानिसहरुकाे जाडोका कारण मृत्यु नहोस् भन्ने उद्देश्यका साथ युवा नेता वोसिम आलमको नेतृत्वमा अभियानका युवा समूहले बुधबार कपडा वितरण गरेकाे हाे ।

उनीहरूले दशैंअघि पनि चाडपर्वलाई लक्षित गर्दै एक सय जना सडक पेटीमा बस्ने मानिसहरुलाई न्यानो लुगा वितरण गरेका थिए । विभिन्न दाताहरुबाट आएका कपडाहरु छान्दै सरसफाई तथा सेनिटाइज  गरेर प्याक गरिसके पश्चात् कपडा वितरण गर्ने गरिएको युवा नेता वोसिम आलमले जानकारी दिए ।

उनले भने,‘लकडाउन खुलेपछि हामीले खाना खुवाउने अभियानलाई रोकेर न्यानो कपडा वितरण गर्न सुरु गरेका हौँ । आज नै हामीले ३ सय जना सडकपेटीमा बस्ने साथै आर्थिक विपन्नता भएकाहरुलाई कपडा वितरण गर्ने लक्ष्य राखेका छाैँ ।’

साथै सहयोगी मनहरुले घरमा थन्काएका तथा पुनः प्रयोगमा आउने कपडाहरु उपलब्ध गराए आफ्नो समूहले सरसफाइ गरेर वितरण गर्ने उनले बताए । कपडा वितरणको अभियान जाडो मौसमलाई मात्रै केन्द्रिकृत नभएर आगामी दिनमा पनि निरन्तरता दिइने आलमको भनाइ छ ।

यसअघि पनि कोभिड १९ रोकथाम तथा न्यूनिकरणका लागि सरकारले गरेकाे लकडाउनकाे समय काम विहिन भएर बसेका मजदुर तथा सडकपेटीमा बस्नेहरुलाई सो समूहले  १२० दिन निरन्तर निःशुल्क दुई छाक खाना खुवाएकाे थियाे ।

प्रतिक्रिया