नेपाली कांग्रेसको फागुनमा हुने महाधिवेशन ६ महिना सर्ने संकेत

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी फागुनमा गर्ने तय भएपनि अब महाधिवेशनको मिति सर्ने देखिएको छ । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले फागुनमा गर्ने भनिएको महाधिवेशन सर्ने संकेत गरेका छन् ।
मंगलबार पूर्वीनवलपरासीमा आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै महामन्त्री कोइरालाले क्रियाशिल सदस्यता तथा नविकरणको काम नसकिएकाले महाधिवेशन फागुन दोस्रो सातामै गर्न कठिन रहेको बताए । ६ महिनासम्ममा महाधिवेशन गर्ने सहमति भएको बताउँदै महामन्त्रीले बैशाख जेठमा महामधिवेशन गर्ने सहमति भएको बताए ।
कोरोना संक्रमणले क्रियाशिल सदस्यता वितरण तथा नविकरणका कार्यहरु अवरुद्ध हुँदा महाधिवेशन सर्ने निश्चित भएको कोइरालाको भनाई छ । ‘६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने सहमति भएको छ । फागुनमा गर्ने भनिएको महाधिवेशन बैशाख जेठभित्र सम्पन्न हुन्छ ।’ कार्यकर्तालाई संवोधन गर्दै महामन्त्रीले भने ।
पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य डा. शेखर कोइराला लगायतले महाधिवेशन तोकिएकै समय अर्थात फागुन दोस्रो साता नै हुनुपर्ने अडान लिइरहँदा महामन्त्रीले ६ महिनाभित्र हुने तर्क गरेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा समेत महाधिवेशन ६ महिना सार्ने पक्षमा छन् । यसको अर्थ उनी फागुनबाट अरु ६ महिना पछि महाधिवेशन गर्ने मनस्थितिमा रहेका छन् । कांग्रेसको विधानतः सभापतिले महाधिवेशन ६ महिना सार्न सक्ने व्यवस्था छ ।
महाधिवेशनको मिति सार्ने नसार्ने सन्दर्भमा कांग्रेसको भोली केन्द्रीय कार्य समितिको बैठक समेत बस्दैछ । यसअघि कांग्रेसका केही पदाधिकारी र पूर्वपदाधिकारीहरुले देउवा निवासमा समेत छलफल गरेका थिए ।
कांग्रेसको महाधिवेशन सर्दा फाइदा कसलाई ?
पार्टीभित्र पुस्ताहरुतान्तरणको माग चर्को रुपमा उठेपनि बर्तमान सभापति शेरबहादुर देउवाले सुन्न सकेका छैनन् । उनी १४ औं महाधिवेशनबाट पुनः एक कार्यकाल सभापति हुने सोचमा छन् । तथापि, कांग्रेस बहुमत सदस्यहरुले नयाँ नेतृत्व चाहेका छन् । महाधिवेशन सारेर भएपनि देउवाले पार्टीमा आफ्नो पक्षमा महौल बनाउन खोजिरहेका छन् । तर, उनका विरुद्ध उपसभापति विमलेन्द्र निधि समेत सभापतिको मैदानमा उत्रिने संभावना छ ।
प्रष्ट रुपमा महाधिवेशन ६ महिना पर सर्दा बतृमान सभापतिलाई सबै भन्दा बढि फाइदा हुन्छ । पार्टीभित्र अधिकांश नेता कार्यकर्ता उनका विरुद्ध उत्रिएपनि समय पाए ती सबैलाई आफ्ना पक्षमा ल्याउन सक्ने ल्याकत देउवामा रहेका देउवा समर्थक एक केन्द्रीय सदस्यले बताए ।
पार्टीमा देउवा पक्षमा, उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, सहमहामन्त्री प्रकाशसरण महत, गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङ, ज्ञानेन्द्रबहादुर कार्की, पुष्पा भुषाल, मीन विश्वकर्मा, विश्वप्रकाश शर्मा, बहादुर सिं लामा लगायत रहेका छन् ।
कांग्रेसमा सभापतिका आकांक्षीहरु आधा दर्जन छन् । खासगरी कांग्रेस संस्थापन पक्ष भनेर परिचित कोइराला परिवारमा आकांक्षीहरु धेरै छन् । बतृमान महामन्त्री शशांक कोइराला समेत सभापतिका दावेदार हुन् । उनीसँगै कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला, गिरिजा पुत्री सुजता कोइराला पनि सभापतिका आकाक्षी हुन् ।
संस्थापन पक्षकै रामचन्द्र पौडेलले पनि आफ्नो दावेदारिता अगाडी सारेका छन् । सभापतिका आकांक्षीहरु धेरै हुँदा आउँदो महाधिवेशनमा कोको सभापतिमा उठ्दैछन् अहिलेनै भन्न सक्ने अवस्था देखिएको छैन ।








