याे वर्ष काष्ठमण्डपमा हुँदैन सामूहिक भाइटीका : अञ्जली भन्छिन्- ‘अर्काे साल भेट्न पाइयाेस्’

  • सृष्टि नेपाल (द्वारिका)

काठमाडौं । काठमाडौं ताहाचलकी अञ्जली मास्के यतिबेला भाइटीकाको तयारीमा व्यस्त हुन्थिन् । दशैंको टिकाको भोलिपल्ट देखि नै भाइ मसला अर्डर दिनेदेखि फूलमाला जुटाउन भ्याइ–नभ्याइ हुन्थ्यो ।

यता भाइटीकाको दिनमा दिदीबहिनी नभएका अथवा टाढा भएका दाजुभाइहरु काष्ठमण्डपमा जम्मा हुन्थे, सप्तरंगी टिकाले निधार सजाउन र उनको आर्शिवाद थाप्न । ती गासिँदै गरेका नयाँ सम्बन्धमा गहिरो आत्मीयता साटासाट हुन्थ्यो ।

२०५५ सालदेखि सुरु भएको अञ्जली मास्केको ‘सामूहिक भाइटीका’ लाई भूकम्पले समेत राेक्न सकेन । आफ्नी आत्मीय दिदीसम्म पुग्न कसैलाई कुनै बाधाले छेकेन । हुन त दिदीबहिनीले भाइटीकाको समयमा ‘दाजुभाइ’ को जीवनमा कुनै बाधा अड्चन नआओस् भन्दै उसको दिर्घायुको कामना गरेका हुन्छन् । भगवानले सुन्दा पनि रहेछन् क्यारे, त्यसैले त सबैकी अञ्जली दिदीको सत्कर्मले निरन्तरता पायो भुकम्पको सालमा पनि ।

तर यो वर्ष भने उनको घर सुनसान छ । न लड्डुको अर्डर दिएकी छिन् न त भाइ मसला र माला नै जुटाएकी छिन् । त्यति व्यस्त पनि छैनन्, जति तिहार नजिकिँदै गर्दा हुने गर्थिन् । किनकी यो वर्ष सामुहिक भाइटीका हुँदैन ।

कोभिडले विश्वभरीकाे जनजीवनमा नै नराम्रोसँग प्रभाव पारेको छ । लाखौँले ज्यान गुमाएका छन् । करोडौं संक्रमित भएका छन् । यस्तो समयमा संक्रमणबाट बच्नु भनेकै भीडभाडमा नजानु हो । त्यसैले यो वर्ष समाजसेवी अञ्जली मास्केले सामुहिक टिका नलगाउने निर्णय गरेकी हुन् ।

उनी भन्छिन्– ‘कोभिडको जोखिमलाई मध्येनजर गर्दै मैले यो सामुहिक भाइटीका नगर्ने भएकी छु । २२ वर्षसम्म निरन्तर गरिरहेको भाइटीका यो वर्ष रोक्नुपर्दा निकै दुःख त लागेको छ तर, आफूसँगै अरुलाई पनि बचाउनै पर्यो । बाँचे त अर्को साल भेट होला नि !’

०००

यो वर्षको चाडपर्व सबैका लागि नौलो रह्यो । ७५ वर्षीय ‘अञ्जली दिदी’ का लागि पनि यो साल बुझिनसक्नुको रह्यो । न यसअघि देखियो, भोगियो न सुनियो । विल्कुल पहिलो पटक, फरक अनुभव ।

अर्को पीडा त साथीभाइ, आफन्तसँग नजिक भएर पनि टाढा रहनुपर्ने बाध्यताले दिलाएको छ । यसकारण यसपाली अञ्जली मास्केको मात्रै होइन धेरै दिदीबहिनीका दाजुभाइहरुको निधार खाली हुन सक्छ । परिवारसँगै दुरी कायम गरेर बस्नुपर्ने यो अवस्थामा अत्यावश्यक काम नपरी बाहिर निस्कने कुरै आएन । बाँच्नै पर्यो, बचाउनै पर्यो ।

‘मेरो दाजुभाइहरु जहाँ हुनुहुन्छ, यहीँबाट दिर्घायुको कामना गर्नेछु । अर्को साल सहज परिस्थिती बनोस् अनि भेट्न पाइयोस् । सधैँ खुशी र सुखी राखिदिनुस्,’ भगवानसँग यही कामना छ उनको ।

काठमाडौंको बांगेमुढामा जन्मिएकी मास्के हाल ताहाचलमा बस्छिन् । उनले सुरूवाती पहिलाे वर्ष (२०५५) मा १०८ जनालाई सगुन बाँडेकी थिइन् । त्यसपछिका सालहरूमा भने उनले २०८ वटा सगुन बनाउने गरेकी छिन् । ७७ जिल्लाबाटै उनकाे हातकाे टीका थाप्न आइपुग्थे दिदीबहिनी नभएका दाजुभाइहरु । मन्त्री, नेतादेखि सर्वसाधारण मजदुरसम्मले उनीसँग भाइटीका लगाएका छन् । साँच्चै दाजुभाइकी धनी छिन् ‘अञ्जली दिदी’ ।

यसरी सुरू भएकाे थियाे ‘सामुहिक भाइटीका’

दाजुभाइ र दिदीबहिनी बिचकाे सम्बन्ध सुमधुर बनाउने पर्व हाे भाइटीका । तिक्तताले भरिएर खुम्चिएकाे सम्बन्ध पनि भाइटीकामा फुक्ने गर्छ । दुरी छाेट्याउन नसक्दा कतिका भने सम्बन्ध नै चुँडिन्छन् सदाका लागि । अनि हरेक सालकाे तिहारले वर्षभरी कमाएकाे खुशी लुटेर लान्छ । सप्तरंगी टीकाले सबैकाे निधार भरिएकाे देख्दा नमज्जा हुन्छ ।

हाे, यी नै एक्ला दाजुभाइकाे निधार खाली र मन राेएकाे देख्न नसकेर अञ्जलीले सुरू गरेकी हुन् सामुहिक भाइटीका ।

‘कति दाजुभाइहरुको निधार खाली देखेर मन खिन्न हुन्थ्यो । कतिले त दिदीबहिनी भएर समेत टाढा भएका कारण अथवा मनमुटावका कारण टिका थाप्न नपाएको देखेँ । उहाँहरु सबैको निधार भरिदिउँ भनेरै मैले यसको सुरुवात गरेकी हुँ,’ उनी भन्छिन्- ‘यसलाई निरन्तर जारी राख्छु भन्ने अठोट पनि गरेकी थिएँ । आजसम्म पुरा पनि गरेँ तर यो वर्ष परिस्थितिले मलाई उहाँहरुबाट र उहाँहरुलाई म बाट टाढा बनायो ।’

बाबाकाे भेषमा गाेरखनाथ…!

सुरूवाती समयदेखि नै अञ्जली मास्केले काष्ठमण्डपकाे गाेरखनाथ मन्दिरकाे प्रांगणमा भाइटीका लगाउने गरेकी छिन् । भगवानको मन्दिरमा टिका लगाउनु उचित हुन्छ, राम्रै हुन्छ भन्ने लागेर सुरू गरेकाे उनकाे तर्क छ । भन्छिन्- ‘काष्ठमण्डप सबैलाई पायक पर्ने ठाउँ पनि हो । भगवानको आर्शिवाद पनि पाइन्छ कि भन्ने हेतुले त्यो ठाउँ राेजेकी हुँ । त्यसमाथि मैले पहिलेदेखि नै गोरखनाथ मन्दिरमा पुजा गर्दै आएकि थिएँ । त्यसैले गर्दा पनि त्यहीँ गर्नुपर्छ भन्ने सोच आयो ।’

पहिलाे वर्ष नै गाेरखनाथ भगवान स्वयम् प्रकट भएर आर्शिवाद दिएको पनि उनले त्यतिबेला महशुष गरेकी थिइन् । त्याे क्षण बिर्सनै नसकिने गरी ताजा बनेर बसेकाे छ उनकाे स्मृतिमा- ‘गोरखनाथको मन्दिर अगाडी मण्डपमा कहिल्यै नदेखेको जोगी बाबालाई देखेँ । स्वयम् गोरखनाथ भगवान प्रकट भएकाे महशुष गरेँ मैले त्याे क्षण । अनि उहाँलाई पनि टिका लगाइदिएँ । उहाँबाट आर्शिवाद पाएँ जस्तो लाग्यो ।’

०००

उनले भाइटीकामा आजसम्म यति खर्च भयाे भनेर हिसाब गरेकी छैनन् । कसैबाट उपहार तथा दक्षिणा थापेकी पनि छैनन् । थापेकी छिन् त केवल आर्शिवाद- मैले दक्षिणा तथा केही उपहार नलिएर सेवा भावले निरन्तर भाइटीका गर्दै आएकी छु । उहाँहरु पनि केही पाउने हिसाबले आउनुभएको होइन, टिका थाप्न मात्रै आउनुभएको हो । हामी मात्र आर्शिवाद लिन्छौँ-दिन्छाैँ ।’

समय अनुसार हरेक सामानकाे मूल्य वृद्धि भएको हुन्छ । माला देखि लिएर सगुन, मिठाइसम्मको हिसाब गरेर साध्य हुँदैन । ५०–६० हजार जति लाग्ने उनकाे अनुमान छ तर यति नै भनेर आजसम्म हिसाब गरेकी छैनन् ।

उनलाई ‘आत्मीय तथा पवित्र नाता’ जोड्नमा परिवारको पनि समर्थन छ । राेकटाेक हुँदाे हाे त सायद ५ वर्षको बालकदेखि लिएर १०० वर्षका वृद्ध त्याे पनि हजाराैँकाे संख्यामा दाजुभाइ हुने थिएनन् उनकाे । परिवारबाट कुनै रोकटोक थिएन र छैन पनि । उहाँहरुको सहयोगविना त यो काम सम्भव पनि हुँदैन थियो सायद’, उनले मकालु खबरसँगकाे कुराकानीमा बताइन् ।

अञ्जली मास्केकाे एक दाजु र एक बहिनी छन् । सबै जना वैवाहिक जीवनमा बाँधिइसकेका छन् । यद्यपी उनको दाजु भने केही वर्षअघि नै बितिसके । हात खाली नराख्न उनी गाेरखनाथ मन्दिर भने जानेछिन् र परिवारसँग तिहार मनाउने छिन् । तर सामुहिक भाइटीका भने हुनेछैन ।

अघिल्ला वर्षहरूमा ‘यहाँ सामुहिक भाइटीका लगाइन्छ भनेर’ लेखिने तुलमा याे वर्ष भने ‘भाइटीका हुँदैन’ लेखिनेछ । उनले सामाजिक सञ्जालबाट समेत ७७ वटै जिल्लामा रहेका दाजूभाइहरूलाई याे पल्ट टिका लगाउन नसक्ने जनाइसकेकी छन् ।

यो वर्ष यस्तै भयो । सबैको स्वास्थ्यको ख्याल गर्दै, भाइटीका नगर्ने भनेर निषेध गरिसकिएको छ । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला । सबैलाई धेरै सम्झना । सुस्वास्थ्य तथा दिर्घायुको कामना । भगवानले साथ दिए अर्को साल भेटौँला ।

प्रतिक्रिया