फोनबाट धम्काएर चन्दा माग्ने चार जना पक्राउ

चितवन । व्यवसायीहरुलाई फोनबाट धम्क्याएर चन्दा माग गर्ने चितवनका एकसहित चार जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा चितवनको भरतपुर महानगरपालिका–१३ का ४२ वर्षीय नन्दुराज आचार्य, नुवाकोटको ककनी गाउँपालिका–२ का ३३ वर्षीय बिन्तोष सिलवाल (सुनार), रामेछापको सुनापती गाउँपालिका–३ का ३१ वर्षीय रामदल श्रेष्ठ र काभ्रेको तिमाल गाउँपालिका–५ का ५२ वर्षीय तिर्थमान तामाङ रहेका छन् ।
उनीहरुलाई महानगरीय अपराध महाशाखा मिनभवन, काठमाडौँको टोलीले सोमबार काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उपत्यका लगायत विभिन्न स्थानका व्यवसायीहरुलाई फोन गरी विप्वल नेतृत्वको नेकपाको नेता तथा कार्यकर्ता हौँ भनी चन्दा माग गर्ने र माग बमोजिम चन्दा नदिए भौतिक कारबाही गर्ने धम्की दिने गरेको सूचना आएपछि उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
उनीहरुविरुद्ध आपराधिक लाभ लिन नहुने कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद प्राप्त भएको प्रहरीले बताएको छ ।









