कानुन समिति सभापति पोखरेलद्वारा कालिका र खैरहनीको विकास निर्माणको अनुगमन

चितवन । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति सभापति कृष्णभक्त पोखरेलले चितवनको कालिका नगरपालिका र खैरहनी नगरपालिकामा भएका विकास निर्माणको सोमबार अनुगमन गरेका छन् ।

चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यसमेत रहेका समिति सभापति पोखरेलले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच सहकार्य गरेर भएका विकास निर्माणको अनुगमन गरेका हुन् ।

कालिका नगरपालिकामा मेयर खुमनारायण श्रेष्ठले नगर भित्र भएका पूर्वाधार तथा विकास निर्माणबारे जानकारी गराए ।

सो अवसरमा नगरपालिकाको निर्माणाधीन भवन, विभिन्न वडा कार्यालयको भवन, स्वास्थ्य केन्द्रको भवन, कयर खोला पुल, नगर भित्रका कालोपत्रे सडकको अनुगमन गरिएको थियो ।

खैरहनीमा वडा नम्बर६ मा निर्माण गरिएको तरकारी तथा फलफुल बिक्री तथा संकलन केन्द्र, खैरहनी ९ मा निर्माणाधीन शीत भण्डार, वडा कार्यालय, स्वास्थ्य केन्द्र, खैरहनी १० शान्तिबजारमा रहेको नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थामा नगरपालिकासँगको साझेदारीमा बन्दै गरेको दुग्धजन्य पदार्थ उद्योग र कठारमा मुसहरका लागि निर्माण गरिएको आवासको अनुगमन गरेका थिए ।

खैरहनीका मेयर लालमणी चौधरीले विकास निर्माणबारे समिति सभापति पोखरेललाई जानकारी गराएका थिए । मुसहर बस्तीमा त्यहाँका स्थानीयसँग पोखरेलले उनीहरुको समस्याप्रति जिज्ञासा राखे ।

नेकपा जिल्ला कार्यालय सदस्य कृष्णप्रसाद न्यौपानेसहित अनुगमन गरेका कानुन, न्याय तथा मानवअधिकार समिति सभापति पोखरेलले खैरहनीको विकास निर्माणप्रति सन्तुष्टि व्यक्त गरे ।

अनुगमन अघि मेयर चौधरीको कार्यकक्षमा भएको छ्लफलमा उपमेयर सुनिता थपलिया, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया