‘राजनीतिमा नीति, नैतिकता र इमानको भयावह पतन’

काठमाडौं । कटाक्षयुक्त शब्द प्रहार गर्ने लेखक खगेन्द्र संग्रौलाले नेपाली राजनीतिमा नीति, नैतिकता र इमानको भयावह पतन भएको उल्लेख गरेका छन् ।

नख्खु जेल ब्रेकका नायक वीरबहादुर लामाको उपचार खर्च नपाएर मृत्यु भएको प्रसंगमा लेखक संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीको उछितो काट्दै नेपाली राजनीतिमा नीति, नैतिकता र इमानको भयावह पतनको सबुत भएको जिकिर गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य कोषको डेढ करोड खर्च गरेर दुई पल्ट किड्नी फेरेको चर्चा गर्दै उनले पूर्वसांसद तथा तत्कालिन नेकपा एमालेका केन्द्रीय नेता वीर बहादुर लामाको मृत्यु भएको प्रसंग जोडेका छन् ।

‘ओलीले राज्यकोषको डेढ करोड थैलोले दुईपल्ट किड्नी फेरे । आफ्नो अहंकारलाई तुष्टि दिन घरआँगनका अर्बाैको भ्युटावर र ठोरीमा राम–मन्दिर र मूर्ति बनाउँदै छन् । नख्खु जेल ब्रेकका नायक वीरबहादुर लामा उपचार खर्च नपाएर मरेछन् । राजनीतिमा नीति, नैतिकता र इमानको भयावह पतनको सबुत हो यो !’ संग्रौलाले भनेका छन् ।

नख्खु जेल ब्रेकरका रुपमा चिनिने मकवानपुरका पूर्व सांसद लामा लामो समयदेखि मिर्गौला रोगले पीडित थिए । उनको उपचारका क्रममा आइतबार पाटन अस्पतालमा निधन भएको थियो ।

उनको कोरोना संक्रमणको संका लागेर चार पटकसम्म पिसीआर परीक्षण गर्दा पनि नेगेटिभ आएको पारिवारीक श्रोतले बताएको थियो ।
२०३३ सालमा सीपी मैनाली प्रदीप नेपाल, गोपाल शाक्य, घनेन्द्र बस्नेत र लामा लगायतका १५ जना राजनीतिक बन्दीहरुले जेलबाट सुरुङ खनेर भागेका थिए ।

प्रतिक्रिया