दिल्ली क्यापिटल्स पहिलो पटक आइपिएलको फाइनलमा

काठमाडौं । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासमा पहिलो पटक फाइनलमा पुगेको छ । आबुधाबीमा गएराति भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली फाइनलमा प्रवेश गरेको हो ।
दिल्लीले दिएको १ सय ९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि केन विलियम्सनले सर्बाधिक ६७ रन बनाएका थिए । त्यस्तै अब्दुल सामादले ३३ रनको योगदान दिए भने मनिष पाण्डेले २१ रन बनाएका थिए । त्यस्तै प्रियम गर्गले १७ तथा राशिद खान र जासन होल्डरले ११–११ रन बनाएका थिए ।
दिल्लीका बलर कागीसो रबाडाले ४ विकेट लिए भने मार्कोस स्टोइनिसले ३ विकेट लिएका थिए । त्यस्तै अक्सर पटेलले १ विकेट लिएका थिए ।
यसअघि दिल्ली क्यापिटल्सले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाउदै १८९ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले ७८ रन बनाए भने शिमरन हेटमेयरले अविजित ४२ रन बनाए । त्यस्तै मार्कोस स्टोइनिसले ३८ रनको योगदान दिए भने कप्तान श्रेयस अय्यरले २१ रन बनाए ।
त्यस्तै सनराइजर्स हैदरावादका बलर सन्दीप शर्मा, जासन होल्डर र राशिद खानले एक एक विकेट लिएका थिए । अब दिल्लीले फाइनलमा मंगलबार मुम्बई इण्डियन्ससँग उपाधिका लागि खेल्ने छ ।








