उद्दार उडान बन्द गर्न सिसिएमसीको सिफारिस, केवलकार, साहसिक पर्यटन खाेल्न सिफारिस

काठमाडौं । कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धार सकिएकाले उद्धार उडान बन्द गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले सरकारलाई सिफारिस गरेको छ ।

सिसिएमसीले अहिलेसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार गरी स्वदेश फर्काएको भन्दै उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।

आइतबार बसेको सिसिएमसीको बैठकले यो सहित बैतडीको झुलाघाट नाका र केबलकारलगायत खोल्न पनि सिफारिस गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले विभिन्न देशमा रहेका नेपाली कूटनीतिक नियोगहरूले लगभग उद्धार सकिएको जानकारी गराएपछि उडान बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

सिसिएमसीले कुनै देशबाट पुनः उद्धार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने निर्णय गरेको छ । यसैगरी, सीमानाका हुँदै नेपाल भित्रिन् १३ वटा प्रवेश बिन्दु रहेकोमा बैतडीको झुलाघाट नाका सुरू गर्ने निर्णय पनि सिसिएमसीले गरेको छ । केबलकार, जंगल सफारी र सासहिक पर्यटनका क्षेत्र खुला गर्न पनि सरकारलाई सिफारिस गरिएको छ ।

यसैगरी होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरूको संख्या धेरै रहेको अवस्थामा स्वास्थ्य परामर्शका लागि स्थानीय तहका वडाहरूबाट स्वास्थ्यकर्मीले परामर्श सेवा दिन अनुरोध गर्ने निर्णय पनि सिसिएमसीले गरेको छ ।

कूटनीतिक नियोगका कर्मचारीका परिवारलाई पनि नेपाल आउन दिने निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफरिस गरिएको छ । बन्द रहेका विद्यालय, सिनेमा हलका विषयमा छलफल भएपनि निर्णयका लागि केही समयको संक्रमणको दरका आधारमा सिफारिस गर्ने भनिएकाे छ ।

प्रतिक्रिया