भरतपुर अस्पतालमा ७० वर्ष माथिको मृत्युदर उच्च, चितवनमा करिब ५ हजार कोरोना सङ्क्रमित

ध्रुवराज खनाल-

चितवन । चितवनको भरतपुर अस्पतालमा उपचार गर्न आएका मध्ये हाल सम्म ५४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा उपचार गर्न आएका र त्यहाँबाट स्वाब सङ्कलन गरिएको मध्ये सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित मध्य ७० वर्ष माथि उमेर समूहका ३१ जना छन् । ३१ मध्ये १६ जना रोग मुक्त भएर घर फर्कँदा ९ जनाले भने कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।

६ जनामा कोरोना संक्रमण सक्रिय रूपमा रहेको छ । ७० वर्ष माथि कुल सङ्क्रमित मध्ये २९.०३५ को मृत्यु भएको सूचना अधिकारी पौडेलले जानकारी दिए ।

उमेर समूहको मृत्युदर अन्य उमेर समूहको भन्दा उच्च हो । १६ देखि ६९ वर्ष उमेर समूहका ४९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा ४२८ जना रोग मुक्त हुँदा २६ जनाको मृत्यु भएको छ । ४३ जनामा रोग सक्रिय अवस्थामा छ । यो उमेर समूहमा कोरोना सङ्क्रमणका कारण मृत्युदर ५.२३५ हुन आउँछ ।

१५ वर्ष सम्मका १३ जनामा सङ्क्रमण देखिएकोमा उनीहरू सबै जना रोग मुक्त भएर घर फर्किएको सूचना अधिकारी पौडेलले बताए । सो उमेर समूहका कसैको पनि मृत्यु भएको छैन । भरतपुर अस्पतालमा हाल ४९ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । सो अस्पतालमा कोरोना सङ्क्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।

चितवनमा ७२ जनाको मृत्यु ,सङ्क्रमित ५ हजार नजिक भरतपुर अस्पतालमा मात्र कोरोना सङ्क्रमणका कारण ३५ जनाको मृत्यु भएकोमा जिल्लामा भने हाल सम्म ७२ जनाको मृत्यु भएको छ । जिल्लामा कुल सङ्क्रमित सङ्ख्या ४ हजार ९५२ जना पुगेका छन् । त्यस मध्य १ हजार ६९३ जनामा कोरोना सक्रिय छ भने ३ हजार १८७ जना कोरोना मुक्त भएका छन् ।

जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका सङ्क्रमित छन् । भरतपुरमा ३ हजार ४२४ जनामा सङ्क्रमण देखिएको छ । त्यसपछि रत्ननगर नगरपालिकामा ६१५ जना,खैरहनी नगरपालिकामा ३५३ जना,राप्ती नगरपालिकामा २८२ जना,कालिका नगरपालिकामा १४५ जना,माडी नगरपालिकामा १०२ जना र इच्छाकामना गाउँपालिकामा ३१ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया