बहुमत सदस्यहरुद्वारा ‘तत्काल बैठक’को लिखित माग, ओलीले कुनै जवाफ दिएनन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यहरुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल बैठक बोलाउन लिखित माग गरेका छन् ।
शनिबार (आज) पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र नारायणकाजी श्रेष्ठले ओलीसमक्ष तत्काल सचिवालय बैठकको लागि लिखित माग गरेका हुन् ।
ओलीसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्तासमेत रहेका श्रेष्ठले आफूहरुले तत्काल सचिवालयको बैठक बोलाउन लिखित रुपमै माग गरेको बताएका छन् ।
किन सचिवालय बैठक बोलाइएको भन्ने प्रश्नमा प्रवक्ता श्रेष्ठले भनेका छन्,–‘कोरोनाले पारेको असर र जनताको स्वास्थ्यका समस्या समधान गर्न, पार्टी स्थायी समितिले गरेको निर्णय कार्यान्वयन गर्दै पार्टी एकताको रक्षा गर्दै अगाडि बढ्न आवश्यक छ भनेर छलफलका लागि सचिवालय बैठक माग गरिएको हो ।’
ओलीले बैठक नबोलाउने विषयमा आफूले नसोचेको बताएका प्रवक्ता श्रेष्ठले आजको भेटघाटमा ओलीले कुनै प्रतिक्रिया नदिएको पनि उनले स्पष्ट पारे ।








