अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वाइडनको जित निश्चित, ६० इलेक्टोरल सिटको नतिजा आउन बाँकी

एजेन्सी । अमेरिकी राष्ट्रपतीय निर्वाचनको मत गणना जारी रहँदा डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो वाइडन जितको नजिक पुगेका छन । रिपब्लिकन उम्मेद्वार एवं वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प अगाडी रहेका जर्जिया र पेन्सिलभेनिया राज्यमा पनि बाइडनले अग्रता कायम गरेपछि उनको जित सुनिश्चित भएको हो ।

जर्जियामा बाइडनको मत ४९.४ प्रतिशत रहेको छ भने ट्रम्पको मत ४९.३ छ । त्यस्तै पेन्सिलभेनियामा बाइडनको मत ४९.५ रहेको छ भने ट्रम्पको मत ४९.३ रहेको छ । यसअघि बाइडनको अग्रता कायम रहेको नेभादा राज्यमा अहिले पनि बाइडनकै अग्रता रहेको छ । बाइडनको पक्षमा ४९.८ प्रतिशत मत रहेको छ भने ट्रम्पको पक्षमा ४८ प्रतिशत मत रहेको छ ।

यसअघि ट्रम्पको अग्रता रहेको नर्थ क्यारोलिनामा भने अहिलेपनि ट्रम्पकै अग्रता कायम रहेको छ । ५ राज्यको मत परिणाम आउन बाँकी रहेको हालसम्मको अवस्थामा बाइडेनले २६४ इलेक्टोरल सिट जितेका छन् भने डोनाल्ड ट्रम्प २१४ सिटमा सिमित देखिएको फक्स न्युजले जनाएको छ ।

बाइडेनलाई अब राष्ट्रपति बन्न केवल ६ इलेक्टोरल सिट चाहिन्छ । कूल ५३८ इलेक्टोरल सिट भएको अमेरिकामा २७० सिटले बहुमत पुग्छ । ४ सय ७८ इलेक्टोरल सिटको नतिजा आइसकेको छ । अब ६० इलेक्टोरल सिटको नतिजा आउन बाँकी छ ।

मत गणनाको नतिजा आउने क्रम जारी रहँदा रिपब्लिकन पार्टीका उम्मेद्वार ट्रम्पले मत गणनामा धाँधली भएको दावी गर्दै अमेरिकी सर्वोच्च अदालतमा मुद्धा दायर गर्ने बताएका थिए । ट्रम्पको निर्वाचन अभियान समुहका वकिल म्याट मोर्गनले जोर्जिआमा बिना प्रमाणका मतपत्रहरू गलत तरिकाले ल्याइएको र पेन्सिल्भेनियामा पर्यवेक्षणहरूलाई अर्थपूर्ण पहुँच नदिइएको आरोप लगाएका छन ।

नेभाडामा गलत रूपमा हजारौँ मतदान गराइएको उनले दाबी गरेका छन । तर पनि मतदान र मत गणनामा ब्यापक रुपमा धाँधली भएको कुनै पनि प्रमाण फेला परेको छैन । ट्रम्प अभियानले पनि कुनै प्रमाण पेश गर्न नसकेको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया