घडियाल गाेही जोगाउनै मुश्किल, नदिमा आश्रितलाई वैकल्पिक पेशा दिनुपर्नेमा जाेड

  • ध्रुवराज खनाल

चितवन । अति संकटापन्न प्रजाती घडियाल गोही संरक्षणमा चासो दिन थालिएको छ । सरोकारवालाहरुले यसको संरक्षण चुनौतीपूर्ण रहेको भन्दै निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका स्थानीयले अपनत्व लिनुपर्ने बताएका छन् ।

पर्यटकको रोजाइँमा समेत पर्ने गरेको गोही संरक्षणमा स्थानीयको सहभागितामा सबै जिम्मेवार निकाय लाग्नुपर्ने उनीहरु बताउँछन् । संरक्षणका लागि एकता नेपाल नामक संस्थाले शुक्रबार सौराहामा आयोजना गरेको कार्यक्रममा दुर्लभ अवस्थामा पुगेको घडियाल संरक्षण गर्न निकुञ्ज र मध्यवर्ती वरिपरिका स्थानीयलाई आय आर्जनमा जोड्नुपर्ने बताए ।

यहाँ स्थानिय नदिमा आश्रित हुंदा जलचर प्रजातीलाई असर पुर्याउँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले नदिमा आश्रितलाई वैकल्पिक पेशा दिन सके घडियाल गोही र जलचर अन्य प्राणी संरक्षण हुने बताए ।

तस्विर : बेद खड्का

चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत ९ वाडेन० अणनाथ बरालले घडियाल गोही मासिने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे । ‘मानवीय कारण घडियाल लोप हुने अवस्थामा छ । नदिमा आश्रितलाई संरक्षणमा अपनत्व गराउनु आवश्यक छ’, वाडेन बरालले भने । जथाभावी नदिजन्य पदार्थको उत्खनन्, जालको प्रयोग,फोहोर, विषादीका कारण संरक्षणमा चुनौती रहेको उनले बताए ।

यस्तै संघिय सरकारको वन तथा बाताबरण मन्त्रालयका सचीव विश्वनाथ ओलीले संरक्षणलाई एकांकी ढंगले हेर्न नहुने भन्दै निकुञ्ज ऎन समयानुकूल परिवर्तन गर्नुपर्ने बताए । घडियाल गोहि संरक्षणकै लागि मन्त्रालयले कार्य योजना बनाएको उनले सुनाए । वन सचिव ओलिले सामाजिक र आर्थिक पाटोलाइ संरक्षणसँग जोड्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले नेपालमा पछिल्लो गणना अनुसार २३० वटा घडियाल गोहि रहेको जानकारी दिए । गोहीको संरक्षण र अध्ययनमै १८ वर्ष बिताइसकेका सहायक संरक्षण अधिकृत खड्काले मानवीय कारणले गत बर्ष १२ वटा र त्यसको अघिल्लो बर्ष ९ वटा घडियाल गोहि मरेको बताए ।

सोही कार्यक्रममा नदिमा आश्रित रहँदै आएका खैरहनीका दराइ बोटेहरुको आय आर्जनका लागि आर्थिक सहयोग गरिएको थियो । कुमरोज बनमा पोखरी बनाएर माछापालन गर्दै आएका दराइ बोटेको थप आम्दानी बढाउन १ लाख रुपैयाँ दराइ बोटे समुहका प्रतिनिधिलाई हस्तान्तरण गरिएको रास्ट्रिय निकुञ्ज विभागका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए ।

त्यस्तै सरिसृप प्रजातिको सर्प उद्वारका लागि उद्वार सामग्री समेत हस्तान्तरण गरिएको थियो । संरक्षणका लागि एकता नेपालका अध्यक्ष बिमलकान्त डल्लाकोटिको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन, राप्ती नगरपालिका उपमेयर इमानसिंह लामाले आफ्नो नगर क्षेत्र भित्र पर्ने नदिमा जथाभावी उत्खनन गर्न नदिने र घडियाल संरक्षणमा सचेतता मुलक कार्यक्रम गर्नुका साथै सहयोग गर्ने प्रतिबद्वता जनाए ।

प्रतिक्रिया