प्रचण्डले बोलाएको सचिवालय बैठकमा ५ सदस्य सहभागी, काे-काे गएनन् ?

काठमाडौं । सत्तारूढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाेलाएकाे पार्टी सचिवालयकाे अनाैपचारिक बैठकमा ५ जना सदस्य मात्रै उपस्थित भएका छन् ।
अध्यक्ष दाहालले आज (शुक्रबार) अनाैपचारिक रूपमा सचिवालय बैठक डाकेका थिए । धुम्बाराहीमा बसेकाे बैठकमा प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, सचिवालय सदस्यहरु ईश्वर पोखरेल र रामबहादुर थापा बादल र महासचिव विष्णुप्रसाद पौडेल भने उपस्थित थिएनन् ।
प्रधानमन्त्री ओलीलाई जानकारी दिएर प्रचण्डले धुम्बाराहीमा बैठक बोलाएका हुन् । हिजो प्रधानमन्त्रीसँग धुम्बाराहीमा भेला बोलाउने जानकारी प्रचण्डले दिएका थिए । अहिले बैठक सकिसकेकाे छ । सो बैठकमा कमिटीको औपचारिक बैठक राख्नका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आह्वान गर्ने निर्णय गरिएको छ ।









