नेपाल प्रहरीले खुलायो ३६० जनालाई जागिर

काठमाडौं । नेपाल प्रहरीले ३६० जनाका लागि भर्ना खुलाएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग भर्ना छनौट महाशाखाले सूचना प्रकाशित गर्दै विभिन्न पदमा भर्ना खुल्ला गरेको हो ।

महाशाखाका अनुसार प्रहरी कार्यालय सहयोगी अन्तरगत २ सय ६१ जना भान्छे, १० जना हजाम, १५ जना सिलाइ/बुनाइतर्फ, ५० जना कुचिकार, ९ जना माली/बगैंचेका लागि भर्ना खुल्ला गरेको छ । यसैगरी १५ जना खेलाडीका लागि पनि भर्ना खुल्ला गरेको छ ।

इच्छुक उम्मेद्वारलाई मंसिर २ गतेदेखि पुस ६ गतेभित्र दरखास्त फारम दर्ता गर्ने समय दिइएको छ ।

सूचना अनुसार खेलाडीबाहेक अन्य पदमा ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिने छ । खेलाडीले भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मात्रै दरखास्त दिन पाउनेछन् । दरखास्तका लागि एक सय रूपैयाँ राजश्व शुल्क तोकिएको छ ।

उक्त पदहरुमा १८ वर्ष पूरा भई २५ वर्ष ननाघेका साधारण लेखपढ गर्न सक्नेले दरखास्त दिन पाउने छन् ।

प्रतिक्रिया