अमेरिकी निर्वाचनः मतपरिणाम आउन अझै केही दिन लाग्ने

एजेन्सी । विश्व शक्तिमान राष्ट्र अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा अहिलेसम्म ५० मध्ये ४३ राज्यबाट मतपरिणाम आइसकेको छ । जसमा डेमोक्र्याट उम्मेदवारले रिपब्लीकन पार्टीका उम्मेद्वार डोनाल्ट ट्रम्पलाई धेरै पछाडी पारेका छन् । अमेरिकामा यसपालि झन्डै १० करोड मतदाताले हुलाकमार्फत् अग्रिम मतदान गरेका थिए ।

अहिलेसम्मको अवस्थामा डेमोक्र्याट उम्मेदवार बाइडनले अग्रता लिएका छन् तर स्पष्ट रूपमा कसले जित्छ भन्ने भन्नसक्ने अवस्था छैन । अन्तिम परिणाम ‘ब्याटलग्राउन्ड स्टेट’ भनिने एरिजोना, जोर्जिया, विस्कन्सिन र पेन्सिल्भेनियाले निर्धारण गर्नेछन् ।

अहिलेसम्म टेक्सस, ओहायो र फ्लोरिडासहित २३ वटा राज्यमा ट्रम्पले जित्ने देखिएको छ । ती राज्यमा मतसर्वेक्षणले देखाएभन्दा उनले राम्रो मत ल्याएका छन् ।

राष्ट्रपति ट्रम्पले धाँधली भएको आरोप लगाउँदै मतगणनालाई सर्वोच्च अदालतमा चुनौती दिने बताएका छन् । ट्रम्पका कार्यकर्ताहरूले पेन्सिल्भेनिया, विस्कन्सिन, जोर्जिया र मिशिगनमा मतगणना रोक्न कानुनी प्रक्रिया अघि बढाएका छन् । बाइडन पक्षधरहरूले ट्रम्पको टिप्पणीलाई ‘आपत्तिजनक’ भन्दै मतगणना रोकिनु नहुने माग गरेका छन् ।

अमेरिकामा यसपालि ६६.९ प्रतिशत मत खसेको आकंलन गरिएको छ जुन १२० वर्षमा सर्वाधिक मत भएको बताइन्छ । तर, अन्तिम परिणाम आउन अझै केही दिन लाग्न सक्छ ।

अमेरिकाका केही शहरहरूमा ट्रम्स समर्थक र बाइडन समर्थकले विरोध प्रदर्शन गरेका छन् । कुनै स्थानमा ट्रम्पका समर्थकहरूले मतगणना रोक्न माग गरेर प्रदर्शन गरेका छन् । केही स्थानमा बाइडनका समर्थकहरूले प्रत्येक मत गणना गर्न दबाव दिन प्रदर्शन गरेका छन् ।

ओरेगनको पोर्टल्यान्डमा ट्रम्पविरोधी प्रदर्शन हिंसात्मक भएपछि न्याश्नल गार्डलाई बोलाइएको छ । केही प्रदर्शनकारीहरूले तोडफोड गरेपछि प्रहरी बोलाइएको हो ।

मिनियापोलसिमा प्रहरीले मुख्य सडकमा अवरोध गरेका २०० प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ । उनीहरू ट्रम्पविरोधी रहेको बताइएको छ । न्यूयोर्क, फिलाडेल्फिया र शिकागोमा पनि यस्तै खाले प्रदर्शनहरू भएका छन् । डिट्रोइटमा ट्रम्प समर्थक प्रदर्शनकारीले गणना केन्द्रको झ्यालमा हिर्काउँदै गणना रोक्न माग गरेका छन् ।

नेभाडामा पनि बिहान पत्रकार सम्मेलनको क्रममा एक प्रदर्शनकारी क्यामराको अगाडि आएर बाइडनले निर्वाचनमा धाँधली गरेको र अमेरिकी सञ्चारमाध्यमले त्यसलाई ढाकछोप गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया