जनताले मागेर खाँदा लाज मान्ने शासकलाई मागेरै देश चलाउँदा लाज लाग्दैन ?

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुल्लामञ्चमा निःशुल्क खाना खाने नागरिकलाई मगन्तेको संज्ञा दिँदै निःशुल्क खाना वितरण अभियान बन्द गर्न उर्दी जारी गरे । कोरोना महामारीका कारण रोजगारी गुमाएर सडकमा आएका नागरिकलाई केही अभियानकर्मीहरुले निःशुल्क खाना खुवाई रहेको महानगर प्रमुखलाई सैह्य भएन । उनले सडकमा खाना खाइरहेको दृश्यले काठमाडौंलाई मगन्तेको शहरका रुपमा परिभाषित गरिएको सम्म भने ।

नगरपिताले सडकमा मागेर खाइरहेकाले आफ्नो बेइज्यत भएको त भने, तर उनीहरु किन सडकसम्म आइपुगे भन्ने हेक्का चैं राखेनछन् ? मुख्य विचारणीय पक्ष हो ।

सडकमा मागेर हिँड्नु कसैको रहर हैन । सायदै दुनियाँमा यस्तो मान्छे छैन जो आफुसँग भएका ऐश आराम छाडेर सडकमा मगन्तेका रुपमा बाचिँरहेको होस् । शारीरिक, मानसिक अशक्तताका कारण, रोग र शोकले थलिएका, आफन्त परीवार नभएका अपवाद होलान् अन्य त्यस्ता नागरिक जो आफ्नो पाखुरा बजारेर स्वाभिमानको जिवन त्यागेर मागेर गुजारा गर्नुपर्ने परिस्थितिमा सजिलै आउँदैनन् ।

तर, आठ महिना यता राजधानीमा सयौं नागरिक सवलांङ्ग हुँदाहुँदै, क्षमता, दक्षता हुँदाहुँदै टुंडिखेलमा कसले निःशुल्क खाना बाँड्दैछ भनेर आश गरेरै बाँचिरहेका छन् । र, यसरी आम नागरिक खासगरी दैनिक ज्यालादारी एक छाक खानाकालागि साँझ विहान कसैले देला कि भनेर आश गरेर बस्नुपर्ने परिस्थिति अरु कसैले सृजना गरेको हैन स्वयं राज्यले गरेको हो । राज्यको अकर्मन्यता, अदुरदर्शिता, कर्तब्यबोध नभएका कारण आज जनता सडकमा मगन्तेको रुपमा परिभाषित हुनु परेको हो ।

कोरोना भाइरसले विश्वकै अर्थतन्त्र धरासायी छ । विश्वका शक्तिशाली देशहरुसमेत कोरोनाको चपेटामा धर्मराएको बेला हाम्रो जस्तो कमजोर अर्थतन्त्र भएको देश कोरोनाको वितण्डाबाट बच्न सक्ने कुरै भएन । सात महिना लामो लकडाउनका कारण मुलुकका साना ठूला सबै प्रकारका व्यापार व्यवसाय ठप्प रहे । लाखौं दैनिक ज्यालादारीहरुले रोजगारी गुमाए । खासगरी दिनभर काम गरेर कमाएको पैसाले बेलुकी चुल्होमा आगो बाल्नेहरुको परिवार सडकमा आउनुपर्ने अवस्था सृजना भएको हो ।

विश्वलाई थाहा थियो, कोरोना संक्रमण त्यत्ति सजिलै जाँदैन । कोरोनालाई परास्त गर्ने एउटै उपाय लकडाउन हो भनेर बुझ्ने सरकारले लामो समयसम्म लकडाउन गर्दा आइपर्ने संभावित असर किन बुझ्न सकेन ? आज ‘बागदरबार’मा बसेर चिल्लो गाडीमा हिँड्दै टुंडिखेलमा अरुले दिएको खाना खाएर ज्यान पालिरहेकाहरुलाई हेर्दै ‘मगन्ते’ भन्ने हाम्रा नगरपिताले आफ्ना नागरिक भोली भोकै हुन सक्छन् भन्ने किन सोच्न सकेनन् ? जवाफ दिनु पर्दैन ?

विद्यासुन्दर ज्यू, तपाईं मुलुककै संघिय राजधानीको नगरपिता तर, आफ्नो नगरमा कसले खायो, कसले खाएन को भोकै रह्यो को रहेन ? हेर्ने जिम्मेवारी तपाईंको हैन ? आज चिल्लो गाडीमा न्यूरोड शयर गर्दा टुंडिखेलमा मागेर खानेहरुलाई देख्ने तपाईंका आँखाले नागरिकलाई मागेर खाइरहेको देख्दा तपाईंलाई लाज लाग्यो हैन ? तर, तपाईं पनि त ‘मगन्ते’ नै होनी ! तपाईले विदेशी दातासँग मागेर बजेट ल्याएर देश चलाउँदा हामी नागरिकलाई पनि लाज लागेको छ ।

हो, नगरपिता ज्यू, तपाईं पनि ‘मगन्ते’ हो । तपाईंको सरकारको अर्थतन्त्र कहाँको आफ्नो हो ? तपाईंले विदेशी दाताले दिएको अर्थतन्त्र खर्चिएर मुलुक चलाई रहनु भएको छ । नागरिकले टुंडिखेलमा मागेर खाँदा लाज लाग्छ भने तपाईंले विदेशीसँग मागेर ल्याएर देश चलाउँदा हामीलाई पनि लाज लाग्छ ।

तपाईंले टाइसुट लगाएर विदेशीसँग वर्षौंदेखि मागेर मुलुकको बेइज्यत गर्नुभएको छ । र, त्यहि विदेशीले दिएको बजेटमा ब्रम्हलूट गर्नुभएको छ । आज जनता रोग र भोकले प्याकप्याक भएको अवस्थामा तपाईंले ति नागरिकका लागि सहानुभूतिका दुई शब्द खर्चनुको सट्टा उल्दै ‘मागेर बेइज्यत गरे’ भन्नु कहाँ सम्मको न्यायोचित हो ? तपाईले काठमाडौं ‘मगन्ते’हरुको शहर हैन भनिरहँदा टुंडिखेलमा बाध्यताले खाइरहेका नागरिकको व्यवस्थापनको जिम्मा पनि लिनुपर्छ । उनीहरुलाई समुचित व्यवस्थापन गरेर तपाईंले यदि अभिव्यक्ति दिएको भए तपाईंलाई सबैले नमस्कार गर्दथे । तर, तपाईंले त आफ्नै नागरिकलाई हेयको भावनाले बोल्नुभयो ।

गाँस बास र कपास राज्यको आधारभूत आवश्यक्ता हो । नगरमा रहेका सबै नागरिकलाई यी आवश्यक्ता पुर्याउनु स्थानीय सरकारको मूल कर्तब्य हो । काठमाडौं महानगरपालिकाले आफ्ना नागरिकलाई माग्नुपर्ने अवस्था सम्म नपुर्याउनु पर्दथ्यो । यसकालागि महानगरसँग स्रोत र साधन नभएको पनि हैन । नगरमा कुन वर्गका नागरिकले खान पाइरहेका छैनन्, कसको रोजगारी गुमेको छ, कसलाई आश्रयको खाँचो छ ? पहिचान गरेर उनीहरुको समस्या समाधान गर्न अल्पकालिन र दिर्घकालिन रणनीति अपनाउनु पर्दछ ।

काम गर्नुस् अनीमात्र तपाईं प्रति नागरिकमा सम्मान जाग्छ ।

प्रतिक्रिया