साउदीमा रोजगारदाताको अनुमतिबिना काम परिवर्तन गर्न पाइने, कहिलेदेखि लागु हुन्छ नयाँ व्यवस्था ?

काठमाडौं । साउदी अरेबियाले आफ्नो श्रम क्षेत्रमा सुधार गर्दै अब श्रमिकको पक्षमा नयाँ नियम जारी गरेको छ ।

साउदी अरेबियाले बुधबार श्रम क्षेत्रमा ठुलो सुधारको घोषणा गरेसँगै अब श्रमिकले रोजगारदाताको अनुमति विना नै काम परिवर्तन गर्न सक्नेछन् । यस्तै उनीहरू कामको अनुबन्धन समाप्त भएसँगै घर पनि आफ्नै मर्जीले स्वतन्त्रतापूर्वक फर्कन पाउने, पुनः प्रवेश भिसाको सुविधा पनि पाउने व्यवस्था गरिएकाे गल्फ न्यूजले जनाएको छ ।

त्यहाँको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले लेवर रिफर्म इनिसिएटिभ (एलआरई) ले  कामदार र रोजगारदाताबीच रचनात्मक सम्बन्धको विकास गर्ने र साउदी अरबलाई रोजगार बजारको आकर्षक केन्द्रको विकास गर्ने उद्देश्यले नयाँ याेजना लागु गरेकाे हाे । मन्त्रालयका अनुसार साे नयाँ नियम मार्च १४ २०२१ बाट लागू हुनेछ ।

अनुबन्धन तोड्दा त्यसकाे असरहरूकाे सामना भने कामदार आफैँले गर्नुपर्ने जनाइएको छ । तीन करोड ४८ लाख जनसंख्या रहेको साउदी अरबमा एक करोड ५ लाख बराबर विदेशी जनसंख्या मध्ये करिब ३ लाख ५० हजार नेपाली श्रमिकहरु कार्यरत रहेको अनुमान गरिएको छ । नेपाल सरकारले साउदीका लागि २ वर्ष करार अवधिको श्रम  स्वीकृति प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया