बार्सिलोनाको जितमा मेस्सी र पिकेको गोल

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको तेस्रो खेलमा बार्सिलोना विजयी भएको छ । समूह जी अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले डिनामो किएभलाई २-१ ले पराजित गरेको हो ।

स्पेनिस क्लब बार्सिलोनाको जितमा लियोनल मेस्सी र जेरार्ड पिकेले एकएक गोल गरे । खेलको पाँचौ मिनेटमा मेस्सीले पहिलो गोल गरेका हुन् । घरेलु मैदानमा भएको खेलको पाँचौं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै मेस्सीले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका हुन् ।

त्यसपछि पहिलो हाफमा कुनै गोल हुन सकेन । दोस्रो हाफको ६५ औँ मिनेटमा पिकेले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । दुई गोल अन्तरको अग्रता कायम राखेको बार्सिलोनामाथि खेलको ७५ औं मिनेटमा किएभका लागि सिगान्कोभले गोल गरे । यो खेलमा २-१ को जित दर्ता गर्दै बार्सिलोना ९ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया