काठमाडौंमा किन हुँदैछ भारतीय सेनाध्यक्षको विरोध ?

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा आएका भारतका स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणेविरूद्ध काठमाडाैंमा प्रदर्शन भएकाे छ । माइतीघर मण्डलमा आज (बुधबार) उनीविरूद्ध प्रदर्शन भएको हाे ।
विभिन्न २१ दलले गरेको प्रदर्शनका सहभागीले ‘गो ब्याक इन्डिया’ लगायत नारा लगाएका थिए । सन् १९५० लगायतमा भएका असमान सन्धी खारेज गर्नुपर्ने उनीहरूकाे माग छ ।
भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथी सम्मान गरिँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नरवणेलाई बिहीबार मानार्थ महारथी सम्मान दिने कार्यक्रम तय भएको छ । उनी प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय वायु सेनाको विमानमार्फत् उनी आज अपराह्न काठमाडौं आइपुगेका थिए ।
भ्रमणदलमा नरवणेकी श्रीमतीसहित चार सदस्य रहने नेपाली सेनाले जनाएको छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरावणे १८औँ सेनापति हुन् ।








