नेकपा विवादमा राष्ट्रपतिको चासो, विवाद समाधानका लागि वामदेवसँग आग्रह

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शीतल निवासमा भेटवार्ता भएको छ । गौतम मङ्गलवार साँझ राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

उपाध्यक्ष गौतमलाई राष्ट्रपति भण्डारीले नै भेट्न बोलाएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले मकालु खबरलाई बताए ।

भेटमा राष्ट्रपति भण्डारीले गौतमसँग पार्टी एकता जोगाउनका लागि भूमिका खेल्न आग्रह गरेकी छन् । राष्ट्रपतिले गौतमलाई गरेको आग्रहबारे सुवेदीले भने, ‘पहिले पनि पार्टी एकता जोगाउन भूमिका खेल्दै आउनुभएको छ । यस पटक पनि लाग्नुपर्‍यो’

करिब आधा घण्टा वार्ता गरी फर्किएका गौतमले आफूले सक्दो पहल गर्ने बताएको सुवेदीले जानकारी दिए ।

उपाध्यक्ष गौतम यसअघि आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा भएको भेलामा पनि सहभागी भएका थिए ।

प्रतिक्रिया