सेतीनदी जलविद्युत् आयोजना : ६ महिनामा ११ प्रतिशत काम

काठमाडौं । कोरोना भाइरस (काेभिड १९) संक्रमणकाे महामारीका कारण धेरै आयोजनाहरुको काम ठप्प भएकाे अवस्थामा सेतीनदी जलविद्युत् आयोजनाको काम भने निरन्तर सञ्चालन भइरहेको छ ।

निजी तथा सरकारी तवरबाट कुनै ठाउँमा जलविद्युत् परियोजना बनाउने हल्ला सुरु भएपछि स्थानीयहरुले विरोध सुरु गरेका घटनाहरु धेरै छन् । देशैभर धेरै जलविद्युत् आयोजनाहरुमा स्थानीयले अवरोधका कारण वर्षाैदेखि अलपत्र अवस्थामा छन् ।तर सेतीनदी जलविद्यत् आयोजनामा भने स्थानीयहरुले पनि लगानी गरेर काममा सहयोग गरिरहेका छन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ मा अहिले २५ मेगावाटको सेतीनदी जलविद्युत् परियोजना निर्माणको काम भइरहेको छ । पहुँचमार्ग पहिले नै खुलिसकेको उक्त स्थानमा बन्दै गरेको परियोजनाका लागि स्थानीयले विरोध होइन, खुलेर सहयोग गरेका छन् । यसका लागि माछापुच्छ्रे गाउँपालिका र २ नम्बर वडाले सहजीकरण गरिरहेकाे छ ।

भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले उक्त आयोजना निर्माण गरिरहेको छ । परियोजनाबारे जानकारी दिँदै कम्पनीका अधयक्ष जगतबहादुर पोखरेलले भने, ‘आयोजना समयमा नै सम्पन हुने विश्वास लिएर अघि बढिरहेका छाैँ । पारदर्शितालाई प्राथमिकतामा राखेर स्थानीयसँग मिलेर अगाडी बढेकाले काम गर्न सहज भएको छ ।’

निर्माण सुरु भएको ६ महिनामा नै परियोजना ११ प्रतिशत काम सम्पन्न भएको छ । अहिले सिभिलतर्फको काम धमाधम भइरहेको आयोजनाका प्रमुख इञ्जिनियर लेखनाथ पाण्डेले जानकारी दिए । उनले भने, ‘बैशाखदेखि काम सुरु भएको आयोजनाको हाल ‘एप्रोच कल्भर्ट’ र पानी थिग्राउने पोखरी ‘सेटलिङ बेसिन’ खन्ने काम भइरहेको छ । जनशक्ति, मेशिन तथा उपकरणका साथ पूर्ण क्षमतामा काम भएको छ । निर्धारित समयभित्र आयोजना सक्ने गरी सिभिलतर्फको काम २ सिफ्टमा भइरहेको छ ।’

असार १ गते ‘जेनेरेशन लाइसेन्स’ प्राप्त भएको मितिले २७ महिनाभित्रमा आयोजनाबाट विद्युत् उत्पादन गरिसक्ने लक्ष्य राखिएको भिजन लुम्बिनीका अध्यक्ष पोखरेल बताए । आयोजनाको डिजाइनर हाइड्रो कन्सल्ट्यान्ट इञ्जिनियरिङका डिजाइन प्रमुख श्यामप्रसाद भुसालका अनुसार रन अफ दी रिभर प्रणालीमा आधारित यो आयोजना अन्तर्गत सेती नदीको पानी ५ मिटर बाँध बाँधेर एप्रोच कल्भर्टबाट ६० मिटर लम्बाइ, २३ मिटर चौडाइ, २२ मिटर गहिरो पोखरीमा थिग्राएर पाइप मार्फत् पावर हाउसमा पठाइने छ ।

सेटलिङ बेसिनबाट सफा पानी भूमिगत पाइप बिछ्याएर पावर हाउसमा १ सय ८७ मिटर उचाइबाट खसालिने छ । सेटलिङ बेसिन रहने राजबगरबाट खारापानी, चिप्लेटी, चौरखरबारी, कसेरी गाउँ, राातोपानी हुँदै चिन्तेबगरमा निर्माण गरिने पावर हाउससम्मको दूरी ६.२ किलोमिटर छ । बिजुली वर्षायाममा ६ महिना ४ रुपैयाँ ८० पैसा र हिउँदयाममा ८ रुपैयाँ ४० पैसा प्रति युनिटमा नेपाल विद्युत् प्राधिकरणले खरिद गर्ने सम्झौता भएको छ ।

आयोजनाको सिभिलतर्फको काम रसुवा लुना जेभीले जिम्मा लिएको छ । १ अर्ब २० करोड लागतमा २७ महिनाभित्रमा सम्पन्न गर्ने सम्झौता भएको छ । ५ अर्ब लगानी हुने उक्त आयोजनाका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड र ऋण लकगानीकर्ता बैंक तथा वित्तीय संस्थाका तर्फबाट बहुपक्षीय वित्तीय सहयोग सम्बन्धी सम्झौता भइसकेको छ ।

आयोजनामा एनएमबी बैंकले २ अर्ब २० करोड, कर्मचारी सञ्चय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड गरी ३ अर्ब ५० करोड लगानी गर्ने भएका छन् । आयोजनाको कूल लागतमध्ये ७० प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ । बाँकी ३० प्रतिशत १ अर्ब ५० करोड रकम प्रवर्द्धकका तर्फबाट लगानी गरिनेछ ।

काठमाडाैं, पोखरा, तनहुँ र बुटवलसहित माछापुच्छ्रे गाँउपलिकाका स्थानीयले आयोजनामा लगानी गर्नेछन् । आयोजनाले विद्युत उत्पादनपछि स्थानीय र सर्वसाधारणको लागि सेयर जारी गर्ने अध्यक्ष पोखरेलले बताए ।

प्रतिक्रिया