बिलमा विवादः किशोरहरुले लिए होटल सञ्चालकको ज्यान

काठमाडौं । पैसा तिर्ने विषयमा विवाद हुँदा किशोरहरुले होटल सञ्चालकको हत्या गरेका छन् । रोल्पाको रुन्टीगढी-२ स्थित धौलडाँडामा होटल सञ्चालन गर्दै आएका ६३ वर्षीय दलबहादुर पुनसँग २५ सयको बिलको विषयमा विवाद हुँदा ११ देखि १७ वर्षका किशोरहरूले हत्या गरेको प्रहरीले जनाएको छ ।

मदिरा सेवनपछि हत्या गरेर उनीहरु फरार भएका थिए । फरार भएको १२ घण्टापछि जिल्ला प्रहरी कार्यालय रोल्पाबाट परिचालित प्रहरी टोलीले हत्या अभियोगमा चार जना किशोरलाई पक्राउ गरेको हो । ६३ वर्षीय पुनको हत्या अभियोगमा प्रहरीले रुन्टीगढी गाउँपालिकाबाटै १२ घण्टापछि स्थानीयहरूको सहयोगमा ती किशोरहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नरेश राज सुवेदीले जानकारी दिए ।

पक्राउ परेका किशोरहरुमध्ये दुई जना १६ वर्षका, एक जना १७ वर्षका र अर्का एक जना ११ वर्षका रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए । ‘कात्तिक ११ गते ती किशोरहरुले पुनको होटलमा मदिरा सेवन गरेका थिए । मदिरा सेवन गरेको बिल २ हजार ५०० भएको सुनाउनेबित्तिकै वृद्धमाथि, ढुङ्गामुढा गर्दै कुटपिट गरेर उनीहरू फरार भएको र अनुसन्धान गर्दै जाँदा घरगोठमा फेला पारेका छौं,’ प्रहरी निरीक्षक खड्काले भने ।

थप अनुसन्धानका लागि कात्तिक १६ गते जिल्ला अदालतबाट म्याद थप गरिएको छ । पक्राउ परेका किशोरहरुले विद्यालय छाडिसकेका र विगतमा पनि अशान्तिपूर्ण गतिविधिमा संलग्न हुँदै आएको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीहरुमाथि कर्तव्य ज्यानसम्बन्धी कसुर अनुसार मुद्दा दर्ता गरेको छ । पछिलो समय रोल्पामा अपराधिक गतिविधिमा बालबालिकाहरूको संलग्नता बढ्दै गइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रतिक्रिया